२१ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा कोशी प्रदेशस्तरीय आयोजना पहिचान तथा आयोजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो बुधवार बेल्टार बजारस्थित नगरपालिकाको सभा हलमा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीको अध्यक्षता तथा उप सभामुख सृजना दनुवारको प्रमुख आथित्यतामा प्रदेश योजना बैंकमा समाबेश गर्न छुट्टेका चौदण्डीगढी र बेलका नगरपालिकाका योजनाहरु समाबेश गर्ने तथा आयोजनाको पहिचान, लागतको आधारमा प्रदेश सरकारले गर्ने विकास पुर्वाधारका आयोजनाहरु, प्रदेशस्तरीय आयोजना छनौट प्रक्रिया र कार्यान्वयनयोग्य प्रादेशिक आयोजनाहरुको सुची तयार गर्ने योजना बैंक सम्बन्धमा छलफल भएको थियो ।
छलफलमा सहभागी हुदै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले प्रदेश सरकारबाट योजना छनौटमा दवाव नआउने बताउदै योजनाको प्राथमिकीकरण सम्बन्धित मन्त्रालयले र विभागले गर्ने र योजना बैंकमा समाबेश भएका योजनाहरु मात्रै कार्यान्वयन हुने बताएका थिए । यस्तै उप सभामुख सृजना दनुवारले सबै जिम्मेवार भएर कार्य गर्दा योजना छनौटमा समस्या नहुने बताएकी थिईन् । वजेट कम तर आबश्यक्ता धेरै भएकाले थोरै वजेटबाट ठुलो प्रतिफल हुने योजनाहरु बनाउनुपर्ने बताउदै उनले न्युन्तम ५० लाख रुपैयाँमाथीको योजना मात्रै प्रदेश सरकारले गर्ने प्राबधानलाई हटाएर त्यसभन्दा कम वजेटका योजना पनि प्रदेश सरकारबाट संचालन हुनुपर्ने बताएकी थिईन् ।
यस्तै कोशी प्रदेश लेखा समितिका सभापति राजन किराँती बासुले पनि ५० लाख रुपैयाँभन्दा माथीका योजना मात्रै प्रदेश सरकारले कार्यान्वयन गर्ने प्रावधान ब्यबहारिक नभएको जनाउदै २५ लाख रुपैयाँ माथीका योजनाहरु प्रदेश सरकार मातहत राख्नुपर्ने बताएका थिए । उनले तीन तहको सरकारबीच सहकार्य नहुँदा तथा सहकार्यको कार्यविधि समेत नहुँदा समस्या आईरहेको बताए । सामुहिकरुपमा जनताको अपेक्षा पुरा गर्नुपर्ने किराँतीको भनाई थियो । कार्यक्रममा कोशी प्रदेश सांसदहरु सम्झना तामाङ्ग, लिला राईले पनि आफ्नो धारणा राखेका थिए । उनीहरुले उदयपुर जिल्लालाई कसरी विकाससंग जोड्ने भन्ने चिन्ता र चासो रहेको बताउदै सबै दलले साझा एजेण्डा बनाएर योजना माग गर्नुपर्ने बताएका थिए । योजना संकलन गरेर मात्र नहुने बताउदै योजना कार्यान्वयन चुनौतीपुर्ण रहेको उनीहरुको भनाई थियो ।
यस्तै चौदण्डगिढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले योजनाहरु छान्दा पालिकाको आबश्यक्ता र क्षमतालाई हेरेर गर्नुपर्ने बताएका थिए । चौदण्डीगढी नगरपालिकाले पनि योजनाहरु पठाएको तर सरकारमा उदयपुरको मन्त्री नहुँदा चौदण्डीगढीको योजनाहरु पर्नसक्नेमा आशंका गरेका थिए । अहिले मन्त्री जुन क्षेत्रका छन् त्यही क्षेत्रमा योजनाहरु धेरै पर्ने गरेको विकृत प्रवृती रहेकोले त्यसलाई सच्याएर सबै पालिकाहरुका योजनाहरुलाई सामानताको आधारमा समेट्नु पर्ने उनको धारणा थियो ।
यस्तै वेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले योजना बैंकको निमार्णले झोले योजनाहरुको अन्तय गरी प्रदेश र स्थानीय तहको सहकार्यमा काम हुने विश्वास ब्यक्त गरेका थिए । नगर प्रमुख कार्कीले प्रदेशबाट पालिकामा संचालित योजनाहरुको अनुगमन र निगरानी सम्बन्धित पालिकाले गर्न पाउने प्राबधान बनाउने पर्ने धारणा राखेका थिए ।

