२० चैत्र २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्थानीय नगर सरकारको मध्यावधि प्रगती समिक्षा सम्पन्न गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा हिजो एक कार्यक्रमको आयोजना गरेर जनप्रतिनीधि, प्रमुख प्रशासकिय अधिकृत, बिषयगत शाखाका प्रमुखहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थितीमा मध्यावधि प्रगती समिक्षा गरेको हो । २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित नगर प्रमुख कालुमान लामा नेतृत्वको स्थानीय तह सरकारले आफ्नो कार्यकालको आधा समय आर्थिक बर्ष २०७९/८० देखी चालु आर्थिक बर्ष २०८१/८२ को फागुन मसान्तसम्म गरेको कार्यहरुको प्रगती समिक्षा गरेको हो । नगरपालिकाले यस अबद्यीमा गरेको कामकारवाही र भएका प्रगतीहरुको दस्तावेज नै तयार गरेर कितावको रुपमा प्रकाशित गर्ने जनाएको छ । प्रगति विवरण प्रस्तुत गर्दै नगर सामाजिक विकास शाखाका प्रमुख नवराज वरालले समिक्षाको उदेश्य नगर सरकारले सम्पन्न गरेका विकास निमार्णका योजनाहरुको जानकारी दिने, योजनाहरुबाट प्राप्त उपलब्धीहरुको वारेमा जानकारी गराउने, क्षेत्रगतरुपमा भएका कमीकमजोरी पत्ता लगाउने तथा स्थानीय सरकारको बाँकी कार्यकाललाई थप ब्यबस्थित, परिणाममुखी र उपलब्धीमुलक बनाउने रहेको बताएका छन् ।
नगरका कालुमान लामा नेतृत्वको स्थानीय सरकार बनेपछि यस अबद्यमिा नगरपालिकाभित्रका विभिन्न सडकहरुमा ११.३३ किलोमिटर कालोपत्रे सम्पन्न भएको र यस आर्थिक बर्षको असार मसान्तसम्म थप ६ किलोमिटर सडक सडक कालोपत्रे हुने जनाइएको छ । यस्तै यस अबद्यीमा नगरपालिका क्षेत्रभित्रका विभिन्न सडकहरुगरी २९ किलोमिटर ग्राभेल भएको, २० किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको, ९९ किलोमिटर सडक मर्मत गरिएको र २ सय मिटर ढलान सडक निमार्ण भएको छ । यस्तै यस अबद्यीमा झण्डै ४ मिलोमिटर सडक नाली निमार्ण, ट्रस पुल ५ वटा, पक्की पुल ६ वटा, झुलुङ्गे पुल २ वटा निमार्ण सम्पन्न भएको, यस्तै १५ वटा आरसिसि कल्भर्ट, सिवाई बजारमा ४५० वर्गमिटर, बेल्टार बजारमा १५ सय वर्गमिटर, शनिवारे बजारमा १३ सय बर्गमिटर, हडिया बजारमा १३ सय ५० बर्गमिटर र बर्खेडाँडामा ६ सय बर्गमिटर गरी ५ हजार २ सय बर्गमिटर क्षेत्रमा सडकको दुवै किनार र बजार क्षेत्रमा ईन्टरलक ईटा बिछ्याउने कार्य सम्पन्न गरिएको छ । यस्तै यसबिचमा नारद आदर्श मावी , मावी आमसाल र जाल्पा माविमा पक्की भवन निमार्ण, वडा नम्बर ४ र वडा नम्बर ९ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी निमार्ण सम्पन्न गरिएको तथा नगर अस्पताल बेल्टारमा १५ शैयाको नगर अस्पताल तिव्र गतिमा निमार्ण हुदै गरेको छ । यस्तै वडा नम्बर २, ४ र ८ मा सुविधा सम्पन्न वडा कार्यालय भवन निमार्ण सम्पन्न भएको , वडा नम्बर ६ र वडा नम्बर १० को वडा कार्याहरुको दोश्रो तल्ला थप गर्ने कार्य सम्पन्न भएको , वडा नम्बर १ का वडा भवन निमार्णधिन अबस्थामा रहेको बताइएको छ ।
यस बाहेक खानेपानी, सिचाई, तटबन्धन लगायतका क्षेत्रमा समेत उल्लेख्य काम भएको नगरपालिकाले जनाएको छ । मध्यावधि समिक्षा कार्यक्रममा भौतिक पुर्वाधार विकास शाखा, महिला वालवालिका तथा ज्येष्ट नागरिक शाखा, उद्यम विकास शाखा, भुमी सेवा केन्द्र, प्रशासन शाखा, पशु सेवा शाखा, हेफर साझेदारी, सहकारी शाखा, सामी शाखा, रोजगार सेवा केन्द्र, कृषी विकास शाखा, स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, राजश्व शाखा, पञ्जीकरण शाखा, नापी शाखा लगायतका शाखाहरुबाट यस अबद्यीमा भए गरेका कामहरुको समिक्षा समेत गरिएको थियो ।
