१८ चैत्र २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढेको छ । नगरमा एमालेको नेतृत्वमा दुई तिहाईको स्थानीय सरकार बनेपछि एमाले प्रबेश गर्नेहरुको संख्या झण्डै ५ सयको हाराहारीमा पुगेको छ । हिजो आईतवार मात्रै वडा नम्बर ३ र वडा नम्बर ८ मा एमालेको वडास्तरीय जराकेन्द्रीत अभियान अन्तर्गत भएको कार्यक्रममा ६५ जना एमालेमा प्रबेश गरेका छन् ।
वडा नम्बर ३ बसहास्थित अजिङ्गरेटोलमा नेपाली कांग्रेस र माओवादि पार्टि परित्याग गरि २६ जना एमालेमा प्रबेश गरेका छन् भने वडा नम्बर ८ सिद्धिपुरस्थित सिम्लेमास डाँडामा भएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माक्र्सवादी पार्टी परित्याग गरी ३९ जना एमालेमा प्रबेश गरेका छन् । उनीहरुले एमाले नेतृत्वको स्थानीय सरकारले गरेको कामबाट प्रभावित भएर एमालेमा प्रबेश गरेको बताएका छन्। एमालेको नेतृत्वमा विकास निमार्ण लगायतमा राम्रो काम भएकाले आफुहरु एमालेप्रति आर्कषित भएको उनीहरुको भनाई छ । ८ नम्बर वडामा भएको पार्टी प्रबेश कार्यक्रममा नेपाली कांगेस पार्टी परित्याग गरेका ईश्वर कुमार राईले आफु टेम्पु चालक रहेको र सोहीक्रममा नगरको बसहा, भोर्लेनी लगायतका क्षेत्रमा जाँदा त्यहाँ विकासको कार्य देखेकाले एमाले मात्र विकास गर्ने बताएका थिए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आफु नेतृत्वको सरकारले गाँउको विकास र बजारको ब्यबस्थापनलाई चुनावी नारा मात्र नभएर त्यसलाई ब्यबहारमा उतार्ने काम गरेको दावी गरेका थिए । उनले ५ बर्ष लाग्ने काम आफु नेतृत्वको सरकारले ३ बर्षमै गरेको दावी गदै शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारको क्षेत्रमा नगरले देखिनेगरी काम गरेको जिकिर गरेका थिए । उनले खारखोलादेखी साँवा स्कुलसम्म जाने बाटोको स्तरोन्नतीमा सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा चौदण्डीगढी नगर ईच्चार्ज कान्ता राईले बिपक्षीहरुले बिभिन्न किसिमा अफवाहहरु फैलाउने गरेको बताउदै बुझेर मात्र बिश्वास गर्न आग्रह गरेकी थिईन् । उनले एमाले प्रबेश गरिसकेपछि पनि बिपक्षीले बिभिन्न प्रलोभनमा पार्न सक्ने बताउदै त्यसबाट सचेत रहदै पार्टी कार्यमा लाग्न समेत आग्रह गरेकी थिईन् ।
पछिल्लो समयमा बिभिन्न पार्टी परित्याग गरी झण्डै ५ सय जना एमालेमा प्रबेश गरेका छन् । यसअघि पनि बसहा, हडिया, माडिबास, बेल्टार, सिद्धिपुर, सुन्दरपुर लगायतका क्षेत्रबाट ठुलो संख्यामा कांग्रेस, माओवादी लगायताको पार्टी परित्याग गरी ठुलो संख्यामा एमाले प्रबेश गरेका थिए ।
