२२ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
४ बर्ष अघि आएको सामान्य बाढीले भत्काएको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ त्रियुगा नदीस्थित सिवाई र वेल्हा जोड्ने मोटेरेवल पक्की पुल संचालनका लागि स्थानीय आफैले पहल लिने भएका छन् । विभाग, मन्त्रालयदेखी प्रधानमन्त्रीसम्मलाई भेटेर पुल पुनःनिमार्णका लागि अनुरोध गर्दा पनि नभएपछि स्थानीयले आफ्नै पहलमा पुुल संचालनका लागि समिति बनाएका छन् ।
वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालको अनुरोधमा आज त्रियुगा नदीस्थित भत्केको पुलमा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकले पुर्व वडा अध्यक्ष देव नारायण चौधरीको संयोजकत्वमा समिति निमार्ण गरेको छ । चौधरी संयोजकत्वको समितिलाई सम्बन्धित निकायसंग समन्वय गरेर बजेट माग गर्ने तथा चन्दा संकलन गर्ने जिम्मेवारी दिइएको छ । बैठकले भत्केको भागसम्म जोड्न तटबन्धन निमार्णका लागि तटबन्धको डिपिआर तयार गर्ने, तटबन्धन निमार्णका लागि प्रदेश सरकार तथा सम्बन्धित निकायहरुसंग अनुरोध गर्ने र माग गरेको कार्यालयबाट वजेट ब्यबस्थापन नभएमा स्थानीय तह, स्थानीय निकाय , ब्यापारी ब्यबसायि, स्थानीयबासीबाट चन्दा संकलन गरेर भए पनि पुल पुनः निमार्णको कार्य गर्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले भत्केको भाग जोड्न तटबन्धन निमार्ण नै राम्रो विकल्प भएको बताउदै प्रदेश सरकार र त्रियुगा नदी नियन्त्रण कार्यालयबाट बजेट माग गर्नुपर्ने बताएका थिए । उनले प्रदेश सरकारसंग बेलिबृज मागेर भएपनि पुल संचालन गर्नुपर्ने बताएका थिए । यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, वडा नम्बर २ का वडा अध्यक्ष हरी खड्का, कार्यपालिका सदस्य तिलावति राई लगायतले आफ्नो वडाबाट पनि संचालनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेलले भने माथिको आश गरेर पुल संचालन गर्न नसकिने भएकोले स्थानीयसंग सहयोग मागेर भएपनि पुल संचालन गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै स्थानीय पत्रकारद्वय अन्जनी अधिकारी र संन्तोष कुमार रौनियारले संघ तथा प्रदेश सरकारले यो पुल नबनाउने बताउदै स्थानीय श्रोत साधनको प्रयोग गरेर स्थानीय सरकार, वडा कार्यालय, स्थानीय ब्यापारी ब्यबसायी र स्थानीयबासीको सहयोगमा मात्र पुल संचालन गर्न सकिने बताएका थिए । बैठकमा बोल्ने अधिकांश वक्ताले पुलको भत्केको भागलाई जोड्नका लागि तटबन्धन निमार्ण उत्तम विकल्प रहेको बताएका थिए । ढुङ्गाको तटबन्धन लगाउन एक करोडभन्दा धेरै रकम लाग्ने भएकोले स्थानीयकै पहलमा सो कार्य गर्नुपर्ने धारणा राखेका थिए ।
२०७७ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीले पुलको सिवाईपट्टीको दुइबटा पिलरमा भासिएपछि सम्पन्न भएर उद्घाटनको तयारीमा रहेको पुल भत्किएको थियो । ३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्ल्याब रहेको पुलको सुरु लागत ९ करोड ७६ लाख रुपैयाँ रहेको भएपनि समयमा निमार्ण सम्पन्न नभएपछि मूल्य समायोजन गर्दै लाँदा पुल को लागत मूल्य ११ करोड २७ लाख पुगेको थियो । २०६७ सालमा ३ बर्षभित्र पुल निमार्ण सम्पन्न गर्ने जिम्मेबारी काठमाडौंस्थित महालक्ष्मी/लोकप्रिय जेभी कलङ्कीले लिएको थियो भने डिजाइन र माटो परीक्षण बालाजुस्थित स्वाइल कन्सल्टेन्सीले गरेको थियो । पुल संचालन नभएपछि त्रियुगा नदीपारीका सिवाई, सुन्दरपुर हडिया क्षेत्रका २० हजार जनसंख्या बर्खाको समयमा कठिन जीवन बाच्न बाध्य भएका छन् । बर्खाको समयमा उनीहरु औषधी उपचार तथा अन्य कामले नगरको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारसम्म आउजाउ गर्दा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
