०२ फागुन २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दपुरस्थित स्वास्थ्य चौकी भवन शिल्यान्यास गरिएको छ । हिजो कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेकी हुन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले विनयोजन गरेको २५ लाख रुपैयाँबाट ४ कोठे भवन निमार्णका ठेक्का चौदण्डीगढीकै थानपोखरी कन्स्ट्रक्सनले भ्याटसहित १५ लाख ७१ हजारमा यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरि भवन निर्माणको जिम्मा लिएको ठेकदार कम्पनीका बालकुमार राईले जानकारी दिएका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपसभामुख दनुवारले पदीय जिम्मेवारीका कारण प्रत्यक्षरुपमा जनताको समस्या संसदमा राख्न नसकेपनि विकास निमार्णका कार्यसंग यहाँका जनतासंग जोडिएको बताएकी छिन् । बिशेष गरि स्वास्थ्य, कृषि, शिक्षा र भौतिक पूर्वाधारका कार्यहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाई छ । उनले यस बर्ष उदयपुरको जाते, भुटार र सुन्दरपुरमा प्रदेश सरकारसंग पहल गरेर स्वास्थ्य भवन निमार्णको योजना पार्न सफल भएको जानकारी दिदै यस क्षेत्रको विकास निर्माणमा निरन्तर पहल गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेकी छिन् ।
यस्तै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले सुन्दरपुरस्थित स्वास्थ्य भवन जीर्ण रहेकोले उपसभामुख मार्फत वजेटका लागि आग्रह गरेको जानकारी दिदै प्रदेश सरकारबाट बजेट पार्न सफल भएको बताएका छन् । उनले विकास निमार्णमा यस क्षेत्रबाट निर्वाचित संघ र प्रदेशका सांसदहरुसंग जोडिएर काम गर्ने ईच्छा भएपनि पुरा नभएको बताए । ढाट्ने छल्नेमा भन्दा पनि काममा प्रतिस्पर्धा गर्न उनले आग्रह गरेका छन् । त्यस्तै उप प्रमुख मणिकादेवी दुलालले ठेकेदारहरुले कम रकममा ठेक्का लिने तर काम गुणस्तरीय नगर्ने गरेको बताउदै कामको गुणस्तर कम भएमा आफुले त्यसलाई पास नगर्ने बताएकी छिन् । उनले स्टिमेटअनुसारको काम भए नभएको बारे निगरानी राख्न पनि सबैलाई आग्रह गरेकी थिईन् ।
यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष सिताराम ढकालले भवन निमार्ण सम्पन्ताका लागि प्रयाप्त वजेटको ब्यबस्था गरिदिन आग्रह गरेका थिए । साथै जिर्ण रहेको एम्बुलेन्सको मर्मत गरी संचालन गर्नका लागि सहयोगको अपेक्षा समेत गरेका बताएका थिए ।