नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक ।

२९ माघ २०८१, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहमा सम्पन्न १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्डकप फुटवल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । आयोजक बसहा क्लबका सचिव लाखमान राईले आज सामाजिक संजाल फेजबुकमार्फत आयब्यय सार्वजनिक गरेका हुन् । सार्वजनिक विवरण अनुसार प्रतियोगिताको लागि बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट २३ लाख ७७ हजार ३ सय २६ रुपैयाँ संकलन भएको तथा बिभिन्न शिर्षकमा २२ लाख ६३ हजार ३ सय ९५ रुयैयाँ खर्च भएको छ ।

प्रतियोगिताको लागि मुख्य प्रायोजक रहेको चौदण्डीगढी नगरपालिकाले ८ लाख रुपैयाँ , यस्तै बसहा सेवा समाज हङकङ्गबाट २ लाख ५० हजार , बसहा सेवा समाज युकेबाट ८६ हजार १९० रुपैयाँ , ४ नम्बर वडाबाट १ लाख रुपैयाँ, ७ नम्बर वडाबाट २५ हजार रुपैयाँ प्राप्त भएको सचिव राईले बताएका छन् । यस बाहेक बिभिन्न् ब्यक्ति र संस्थाबाट रकम प्राप्त गरेको उनको भनाई छ । त्यस्तै ब्ययतर्फ भने पुरुस्कारमा ८ लाख १५हजार रुपैयाँ, बिभिन्न क्लबका खेलाडीहरुका लागि गाडीभाडा लगायतमा ६ लाख २३ हजार रुपैयाँ, खेलको प्रत्यक्ष प्रसारणमा ५० हजार रुपैयाँ खर्च भएको छ । यस बाहेक अन्य खर्चमा ट्रफी, मेडल खरिद, स्टेशनरी, अतिथी सत्कार, रेफ्री खर्च लगायतमा खर्च भएको सचिव राईले जानकारी दिएका छन् । उनले यसपटकको प्रतियोगितामा १ लाख १३ हजार ९ सय ३१ रुपैयाँ वचत भएको बताएका छन् । अघिल्लो बर्षभन्दा पुरुस्कार राशीमा बढोतरी भएपनि समग्रमा प्रतियोगिताको खर्चभने अघिल्लो बर्षभन्दा कम भएको उनको भनाई छ ।

यहि माघ १५ गतेदेखी माघ २२ गतेसम्म चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा भएको सप्ताहब्यापी प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिताको उपाधी सहलेश युवा क्लब सिरहा र उपविजेताको उपाधी झापा ११ फुटवल क्लब झापाले जितेको थियो ।