चौदण्डीगढीमा सम्पन्न आँखा शिविरबाट २५२ जना आखाँका विरामीको मोतिविन्दुको निःशुल्क अपरेशन ।

२६ माघ २०८१, सन्तोष कुमार रौनियार…

 

चौदण्डीगढी नगरपालिकामा आज सम्पन्न भएको आँखा शिविरबाट २५२ जना आखाँका विरामीको मोतिविन्दुको निःशुल्क अपरेशन गरिएको छ । माघ १२ गतेदेखी शुरु भएको मोतिविन्दुको छनौट शिविरबाट २ हजार २ सय बढीको आँखाको परिक्षण गरिएकोमा २५२ जनाको मोतिविन्दुको तथा आखाँमा मासु पलाएको ६ जनाको सफल अपरेशन गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईले जानकारी दिएका छन् । मोतिविन्दुको निःशुल्क अपरेशन गर्ने तथा स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्ने उदेश्यले तिलगंगा आखाँ अस्पताल काठमाडौं र चौदण्डीगढी नगरपालिकाको संयुक्त आयोजना तथा भिजन हिमालय फाउण्डेशनको सहयोगमा चौदण्डीगढी नगरपालिकाको दशवटै वडा तथा छिमेकी पालिका बेलका नगरपालिकाको वडा नम्बर १,२ र ४ मा माघ १२ गतेदेखी मोतिविन्दुको छनौट शिविर संचालन गरिएको थियो भने माघ २३,२४ र २५ गते तीन दिन उनीहरुको निःशुल्क अपरेशन गरिएको थियो । छनौट शिविरबाट ३१० जनाभन्दा बढीमा मोतिविन्दुको समस्या देखिए पनि २५२ जनाले मात्र अपरेशन गराएको वडा अध्यक्ष राईले बताएका छन् ।

शिविर सम्पन्न भएपछि आज बिहान नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा अध्यक्ष राई, बेलका नगरपालिकाकी उप प्रमुख जीरा राई लगायतले शिविरमा कार्यरत तिलगंगा आखाँ अस्पताल काठमाडौंका बरिष्ठ नेत्र बिशेषज्ञ होम बहादुर गुरुङ्गसहितको टोलीलाई धन्यवाद दिदै विदाई गरेका थिए । विदाई समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आगामी बर्ष पनि शिविर संचालन गरिने जानकारी दिदै फेरी भेट्ने बताएका थिए । चौदण्डीगढी नगरपालिकाले पछिल्लो समय हरेक बर्ष तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ सँगको संयुक्त आयोजनामा निःशुल्क आँखाको शिविर सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७९/८० मा २२ सय ३५ जनाको निःशुल्क आँखाको जाँच गरेको थियो भने उक्त शिविरबाट छनौट भएका २७३ जना मोतिबिन्दुका बिरामी मध्ये २२५ जनाको निःशुल्क अप्रेसन गरिएको थियो । यस्तै आर्थिक बर्ष २०८०/०८१ मा २६ सय जनाको निःशुल्क आँखाको जाँच गरिएको थियो, जस मध्ये ४ सय ९२ जनामा मोतिबिन्दुको समस्या देखिएकोमा ३ सय १९ जनाको निःशुल्क अप्रेसन गरिएको नगर स्वास्थ्य शाखाका उप प्रमुख हिमालय पौडेलले जानकारी दिएका छन् ।