२५ माघ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकामा केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको उपाधी सप्तरीको न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरको आयोजनामा तेस्रो संस्करणको केपी ओली कपको प्रचारप्रसारका लागि आज वडा नम्बर ६ बेल्टारस्थित स–शस्त्र प्रहरी बेस क्याम्पको खेल मैदानमा भएको केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१ को उपाधी न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको हो । आज भएको फाईनल खेलमा बेल्टार युवा एकता क्लबलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै न्यु त्रियुगाले उपाधीमाथी कबजा जमाएको हो ।
पहिलो हाफ्को खेल गोलरहित बराबरी भएको थियो भने दोश्रो हाफ्को ७ औं मिनेटमा न्यु त्रियुगाको तर्फबाट जर्सी नम्बर ५ का सागर रायले गोलपोष्टमा गोलरक्षक नरहेको मौकाको फाईदा उठाउदै गोल गरेका थिए । तर १–० ले पछि रहेको अबस्थामा बेल्टार युवा एकता क्लबका तर्फबाट जर्सी नम्बर ७ का सागर राईले एक मिनेट भित्रै दोश्रो हाफ्को ८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि भने निर्धारित समयमा थप गोल हुननसकेपछि खेलको नतिजा ट्राईबेकरबाट निर्धारण गरिएको थियो । जसमा न्यु त्रियुगा ३–२ ले विजयी भएको थियो । जीतसंगै न्यु त्रियुगाले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बेल्टार युवा एकता क्लबले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेताहरुलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राई, स्थायी समिति सदस्य अनुपमा राई, युवा संघका उदयपुर ईन्चार्ज तथा केन्द्रीय सदस्य तुलसी चौलागाई, युवा संघ उदयपुरका अध्यक्ष विमल भण्डारी लगायतले पुरुस्कार वितरण गरेका थिए ।
यही फागुन ११ गतेदेखी १९ गतेसम्म काठमाडौंमा केपीओली कप फुटवल प्रतियोगिता आयोजना हुदैछ । सोही प्रतियोगिताको प्रचारप्रसारका लागि बेल्टारमा पनि फुटसल प्रतियोगिता आयोजना गरिएको केन्द्रीय कोषाध्यक्ष राकेश राईले जानकारी दिएका छन् ।