२३ माघ २०८१, सन्तोष कुमार रौनियार…
राष्ट्रिय युवा संघ नेपाल उदयपुरले केपी ओली कपको प्रचार प्रसारका लागि फुटसल कप प्रतियोगिताको आयोजना गरेको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरका सचिव अनुपराज खत्रीका अनुसार यही माघ २५ गते शुक्रवार उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टारस्थित स–शस्त्र प्रहरी बेस क्याम्पको खेल मैदानमा प्रचारात्मक कमरेड खुल्ला फुटसल कप प्रतियोगिता संचालन हुने जनाएका छन् ।
यही फागुन ११ गतेदेखी १९ गतेसम्म काठमाडौंमा केपी ओली कप फुटवल प्रतियोगिता आयोजना हुदैछ । सोही प्रतियोगिताको प्रचारप्रसारका लागि बेल्टारमा पनि फुटसल प्रतियोगिता आयोजना गरिन लागेको जिल्ला सचिव खत्रीले बताएका छन् । खत्रीका अनुसार प्रतियोगितामा बेल्टार युवा एकता क्लब, ए.पि.एफ. उदयपुर, सुनाखरी युथ क्लब वेलका, के.वाई.सी उदयपुर, त्यस्तै बसहा ११, नेपाली पुलिस उदयपुर, न्यु त्रियुगा स्पोर्टस क्लब सप्तरी र ११ स्टार बोक्से गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र, त्यस्तै उपविजेताले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला कमिटीको आयोजनामा हुन लागेको प्रतियोगिताको ब्यबस्थापकमा राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटी रहेको छ भने मिडिया पार्टनरमा रेडियो चौदण्डीगढी लगायतका स्थानीय संचार माध्यम रहेका छन् । प्रतियोगिता अन्तर्गतका सबै खेल माघ २५ गते नै हुनेछ भने उद्घाटन खेल बेल्टार युवा एकता क्लब र ए.पि.एफ. उदयपुरबीच हुने आयोजकले जानकारी दिएको छ ।