१७ माघ २०८१, सन्तोष कुमार रौनियार…
अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामा बेल्टार बजारस्थित पुमा सेकेण्डरी बोडिङ्ग स्कुलले छात्र तथा छात्रातर्फको उपाधी जितेको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ बेल्टारस्थित समाबेशी खेल मैदानमा चौदण्डिगढि नगर प्याब्सनद्वारा आयोजित हिजोदेखी शुरु भएको अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामा मावी स्तरीय छात्र तथा छात्रातर्फको उपाधी पुमाले जितेको हो ।
आज सम्पन्न फाईनल खेलमा सिनियर मावीतर्फ छात्रहरुको खेलमा मेरीगोल्ड एकेडेमी भुल्केलाई १२–३ को फराकिलो गोल अन्तरले पराजित गर्दै पुमाले उपाधी जितेको हो । बेल्टारस्थित सगरमाथा सेकेण्डरी बोडिङ्ग स्कुल भने तृतीय भएको छ । यस्तै छात्रातर्फको उपाधी पनि पुमाले नै जितेको छ । छात्रातर्फ सगरमाथा सेकेण्डरी बोडिङ्ग स्कुल बेल्टारलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । छात्रातर्फ भने भुपु सैनिक अंग्रेजी स्कुल बेल्टार तृतीय भएको छ । त्यस्तै जुनियर तर्फ पनि छात्रमा पुमाले नै वाजी मारेको छ । पुमाले बुदुरलाल बोडिङ्ग स्कुल हडियालाई ९–३ ले हराउदै उपाधी चुमेको हो । भुपु सैनिक अंग्रेजी स्कुल बेल्टार जुनियर छात्रतर्फ तृतीय भएको छ । जुनियर छात्रातर्फ भने भुपु सैनिकले मेरीगोल्ड एकेडेमी भुल्केलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रथम भएको छ । उपविजेता भएको मेरीगोल्ड दोश्रो र सगरमाथा बोडिङ्ग स्कुल बेल्टार तेश्रो भएको छ ।
विजेताहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व नगर प्रमुख खगेन्द्र कार्की, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, एमाले नेतृ कान्ता राई लगायतले ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरुस्कृत गरेका थिए । प्रतियोगिता शहिद दिवसको अबसरमा जिल्ला हयाण्डवल संघ उदयपुरको प्राबिधिक सहयोगमा चौदण्डीगढी नगर प्याबसनले आयोजना गरेको हो ।
