१५ माघ २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ७ बेल्टारमा पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ को सभाहलमा खोप समन्वय समिति, जनप्रतिनीधि, स्वंमसेवक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । नेपाल सरकारले यही माघ २३ गतेदेखी फागुन ७ गतेसम्म कक्षा ६ देखी कक्षा १० सम्म बिद्यालयमा अध्ययनरत तथा १० बर्षदेखी १४ बर्ष उमेर समुहका बिद्यालयबाहिरका किशोरीहरुलाई महिलाहरुको पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप अभियान संचालन गर्दैछ । सोही अभियानको तयारीका लागि नगर स्वास्थ्य शाखा तथा आधारभुत नगर अस्पताल बेल्टारको आयोजनामा सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रम आधारभुत नगर अस्पताल बेल्टारका जनस्वास्थ्य निरिक्षक मदन कार्कीले महिलाहरुमा हुने क्यान्सर मध्येमा पाठेघरको मुखको क्यान्सर चौथो स्थानमा रहेको बताउदै ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका विरामीहरुको मृत्यु हुने गरेको र उनीहरु नेपाल जस्ता न्युन तथा मध्यम आय भएका देशहरुमा देखिएको बताएका छन् । उनले नेपालमा औसत दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका मृत्यु हुने गरेको जानकारी दिदै यस्तो भयावह स्थितीलाई न्युनीकरण गर्न दातृ निकायको सहयोगमा खोप अभियान संचालन गरिन लागेको बताएका छन् । उनले खोप सुरक्षित रहेको बताउदै ढुक्क भएर लगाउने बाताबरण निर्माणमा सहयोग पुर्याउन सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन् । गर्भवती महिला, उच्च ज्वरो भएका विरामी तथा सिकिस्त विरामीहरुले खोप लगाउन नहुने पनि बताएका छन् । साथै सामान्य विरामीहरुलाई भने चिकित्सकको निगरानीमा खोप लगाउनुपर्ने बताएका छन् ।
वडा नम्बर ७ का ७ वटा बिद्यालय र आधारभुत नगर अस्पताल बेल्टारमा गरी ८ स्थानमा खोप लगाइएने पनि जानकारी दिएका छन् । जनस्वास्थ्य निरिक्षक कार्कीका अनुसार माघ २८ गते सगरमाथा बोडिङ्ग स्कुल बेल्टार र मेरीगोल्ड एकेडेमी भुल्के, त्यस्तै माघ २९ गते सगरमाथा आधारभुत बिद्यालय भुल्के र श्रीपञ्चमी आधारभुत बिद्यालय बेल्टार, माघ ३० गते कञ्चनजंघा एकेडेमी बेल्टार, भुपु सैनिक अंग्रेजी स्कुल बेल्टार, पारुहाङ्ग एकेडेमी बेल्टारमा खोप अभियान संचालन हुनेछ भने फागुन १ गते आधारभुत नगर अस्पताल बेल्टारमा खोप अभियान संचालन हुनेछ ।
कार्कीले बिद्यालयका २३० जना र बिद्यालयबाहिरका ४९ जना गरी २७९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप लगाईने तयारी रहेको बताएका छन् । कार्कीले हाल प्रयोग गर्न लागिएको खोप सेकोलिन खोप रहेको र यसले प्रजाती १५ र १८ का कारणहुने पाठेघरको मुखको क्यान्सर रोग न्युनीकरण गर्न प्रभावकारी रहेको अध्ययनले देखाएको जानकारी दिएका छन् ।
