८ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजना हुने खेल प्रतियोगिताहरुलाई ब्यबस्थित बनाई संचालनका लागि खेलकुद क्यालेन्डर निमार्ण गरि कार्यवन्यन गरिने भएको छ । चौदण्डीगढी नगर खेलकुद विकास समितिको आयोजनामा बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा समितिका अध्यक्ष नन्दु मगर, बिभिन्न खेलकुद क्लबका प्रतिनीधि, सुरक्षा निकायका प्रतिनीधि, पत्रकार लगायतको उपीस्थतीमा भएको छलफलले खेलकुद क्यालेन्डर निमार्ण गरेर प्रतियोगिताका संचालन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नगर खेलकुद विकास समितिका सचिव भास्कर चौधरीका अनुसार नगरका सबै वडाहरुमा खेलकुद क्षेत्र बनाई संचालनमा रहेका समुह, क्लब वा संस्थाहरुले बिभिन्न समयमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने गरेको र सोको लागि नगर, वडा वा अन्य तवरबाट आर्थिक सहयोग रकम संकलन गरी प्रतियोगिता संचालन गर्दा झै–झगडा हुने, विवादित भई प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न नसक्ने, प्रतियोगिताको ब्यबस्थापन गर्न नसक्ने, संकलित रकमको आर्थिक पारदर्शिता नगर्ने जस्ता क्रियाकलाप बढ्दै गैरहेकोले त्यस्ता बेतिथी न्युनिकरण गर्न, सुशासित भई नियमपुर्वक प्रतियोगिता संचालन गरी सम्पन्न गर्न प्रतियोगिता संचालन गर्ने क्लब वा संस्थालाई अनिवार्य रुपमा नगर खेलकुदमा दर्ता गर्नुपर्ने पनि निर्णय गरिएको छ । तर परापुर्वकालदेखी संचालित ईतिहास बोकेको प्रतियोगिताहरुको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा मात्र संचालन गर्ने दिने निर्णय गरेको छ । यस्तै नगर खेलकुदमा सुचिकृत नभएर आफुखुशी प्रतियोगिता संचालन गरेमा त्यस्ता क्लब वा संस्थाहरुलाई नगरपालिकाले आर्थिक सहयोग लगायत कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन बाध्य नहुने तथा प्रतियोगिताबाट उत्पन्न समस्याप्रति आयोजक नै जिम्मेबार हुने निर्णय भएको चौधरीले बताएका छन् ।
यसअघि छलफलमा सहभागीहरुले नगरस्तरीय प्रतियोगिताहरुको लागि क्लब वा संस्थालाई सुचिकृत गराउन सकिने भएपनि रमाईलोका लागि आयोजना गरिने खेल प्रतियोगिताका आयोजक क्लब वा संस्थाहरुलाई आर्थिक तथा ब्यबहारिक रुपमा सुचिकृत हुन बाध्य पार्दा खेल गतिबिधी नै सुस्ताउने होकी पनि आशंका गरेका थिए । उनीहरुले वडास्तरीय खेलकुद प्रतियोगिता संचालन गर्न वडा खेलकुद समिति वा वडा कार्यालय र नगरस्तरीय खेलकुद प्रतियोगिताका लागि नगर खेलकुद समितिसंग अनुमति लिएर संचालन गर्न दिदा उपयुक्त हुने धारणा पनि राखेका थिए । नगर प्रमुख लामाले भने विभिन्न नाममा आफुखुशी खेल प्रतियोगिताहरु आयोजना हुदाँ समस्या भैरहेको र नगरले समेत बिधीसम्मत तरिकाले सहयोग गर्न अप्ठ्यारो अबस्था सृजना भएकाले क्लब वा संस्थाहरुलाई सुचिकृत गर्न आबश्यक रहेको धारणा राखेका थिए ।