७ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…
अस्पताल प्रशासनले समयमै एम्बुलेशन उपलब्ध नगराएको भन्दै मृतकका आफन्तजनले चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामासंग अभद्र ब्यबहार गरेका छन् । आधारभुत नगर अस्पताल बेल्टारमा आज बुधवार बिहान उपचारका क्रममा मृत्यु भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय दिलबहादुर मगरका श्रीमति कमला साह मगरले आक्रोशित हुदै मेयर लामालाई हात हालेकी थिईन् ।
सुगर ,प्रेसर र दम रोगबाट ग्रसित मगरको आज उपचारको क्रममा मृत्यु भएको थियो । शरीरमा सुगरको मात्रा एक्कासि कम भएर “ हाईपो ग्लासमिक सक विथ काडियो पल्मोनरी एरेस्ट“ भएर मृत्यु भएको नगर अस्पताल बेल्टारका डाक्टर अमृत कर्णले जनाएका छन् । नगर अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरी सुबिधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको अस्पताल श्रोतले जनाएको छ । तर अस्पतालमा समयमै एम्बुलेन्स नभएपछि मगरलाई बाहिर लैजान नसकिएकोले मगरको मृत्यु भएको मगरका श्रीमति कमला साहले आरोप लगाएकी छिन् । उपलब्ध डाक्टर र अन्य कर्मचारीले उपचारमा सक्दो प्रयास गरेको भएता पनि समयमै एम्बुलेन्स उपलब्ध नभएको कारण आफूले श्रीमान गुमाएको साहको भनाई छ । यसैबिच मगरको मृत्यु पछि आक्रोशित भएका परिवारलाई सम्झाउन अस्पताल पुगेका नगर प्रमुख लामालाई सोही क्रममा साहले हातपात गरेकी थिईन् । नगर प्रमुख लामा पनि मृतक मगरकै वडा नम्बर ४ का बासिन्दा हुन् ।
समयमै एम्बुलेन्स उपलब्ध गराउन नसकेकोमा कमजोरी भएको स्वीकार गर्दै मगरको मृत्यु भएपछि मृतकको परिवारलाई राहत दिन नगर प्रमुख लामाको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले मृतकका एक जना छोरीलाई जागीर, दुई जना छोरीलाई निःशुल्क स्नातकसम्मको पठनपाठनको ब्यबस्था र क्रिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले जानकारी दिएका छन् ।
चौदण्डीगढी नगरपालिकाले विपन्न बर्गका नागरिकका लागि सुत्केरीका वा जटिल विरामी भएमा सदरमुकाम गाईघाटसम्म र नगरभरी तथा धरान, विराटनगर लगायतका नगरबाहिरका स्थानमा विरामी लैजानुपर्ने भएमा विपन्न नागरिक भएको खण्डमा वडा अध्यक्षको सिफारिसमा नगर प्रमुखको आदेशमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको नगरपालिकाका जिन्सी शाखा प्रमुख केशव बन्जराले जानकारी दिएका छन् । नगरपालिकाले एक वटा एम्बुलेस संचालन गर्दै आएको छ भने एक वटा एम्बुलेन्स आधारभुत नगर अस्पताल बेल्टारले पनि संचालन गरिरहेको छ ।
यसैबिच नगरपालिकाले आज साँझ एक बिज्ञप्ती जारी गर्दै मगरको मृत्यु पश्चात मृतकको परिवारलाई सान्तवना दिन नगर प्रमुख कालुमान लामा आधारभुत नगर अस्पतालमा उपस्थित हुँदा घटनालाई उत्तेजित पारी नगर प्रमुख माथी एक समुहले दुबर््यबहार गराएको भन्दै नगरपालिकाले खेद प्रकट गरेको छ । दुःखद घटनालाई राजनीतिकरण गराउन खोज्नुलाई नगरपालिकाले गम्भिर रुपमा लिएको र आउँदा दिनमा यस प्रकारका घटना हुन नदिनसबै पक्ष गम्भिर भएर लाग्न पनि नगरपालिकाले सबैलाई आग्रह गरेको छ । बिज्ञप्तीमा मृतकको परिवार र नगरपालिकाबीच भएको सहमति अनुसार मृतकको परिवारलाई काजक्रिया वापतको खर्च रकम नगरपालिकाले उपलब्ध गराउन र मृतको छोराछोरीलाई अध्ययनको लागि आबश्यक सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको उल्लेख छ ।