१ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…
मानव सेवा आश्रमले उदयपुरको चौदण्डीगढी र बेलका नगरपालिकाबाट १३ जना सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेको छ । चर्चित गायिका आनी छोईङ्ग डोल्मा संस्थापक रहेको आनी छोईङ्ग डोल्मा फाउण्डेशनसंगको सहकार्यमा मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा हिजो उदयपुर आएको मानव सेवा आश्रमको टोलीले आज वेलका नगरपालिकाबाट ७ जना र चौदण्डीगढी नगरपालिकाबाट ६ जनागरी कुल १३ जनाको उद्धार गरी आफैसंग लगेको छ भने उनीहरुलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखेर रेखदेख गरिने आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिएका छन् । गायिका आनी छोईङ्ग डोल्मासहित आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायत यात्रामा निस्किएको टोलीले उनीहरुलाई वेलका र चौदण्डीगढी नगरपालिकाको बिभिन्न स्थानबाट उद्धार गरेर लगेको प्रवक्ता बर्तौलाले बताएका छन् । मानव सेवा आश्रमको टोली उदयपुर आउने जानकारी पाएपछि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बिशेष सक्रियतामा चौदण्डी, बेल्टार, ज्यामिरे लगायतका स्थानबाट सहयोगापेक्षी सडक मानवलाई उद्धार गरिएको नगर प्रमुख लामाको सचिवालयले जानकारी दिएको छ । नगर प्रमुख लामा आफै सडक मानवको उद्धारमा आश्रमको टोलीसंग खटिएका थिए भने त्यसअघि डोल्मासहितको आश्रमको टोलीलाई बेल्टार बजारस्थित बसपार्कमा स्वागत गरेका थिए । नगरमा वेवारिसे अबस्थामा रहेका वेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडकआश्रित मानवलाई मानवोचित ब्यबस्थापनसहित औषधी उपचार, पालनपोषण र जिवन रक्षाका लागि उनीहरुको उद्धारगरी आश्रमको जिम्मा लगाइएको नगर प्रमुख लामाले बताएका छन् । आश्रममा उनीहरुले राम्रो सेवा पाएर समाजमा पुनःस्थापित हुने उनले बिश्वास ब्यक्त गरेका छन् । मुख्य कार्यालय मकवानपुर जिल्लाको हेटौडामा रहेको आश्रमको सेवा १९ वटा जिल्लाको २५ स्थानमा सेवा केन्द्रमार्फत संचालनमा रहेको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिएका छन् । हाल १७ सय २३ जना आश्रममा आश्रित रहेको, ४ हजार ४२ जनालाई परिवारसंग पुनर्मिलन गराएको तथा ३४ सय ६२ जना उपचार पश्चात स्वेच्छाले आश्रमबाट बाहिरिएको, ८ सय ४९ जनालाई सामुदायिक पुनस्थापना गरिएको र हालसम्म १० हजार भन्दा धेरै जनालाई सेवा प्रदान गरिएको बर्तौलाले बताएका छन् । सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र निमार्ण एवं घोषणा बर्ष २०८२ सफल पारौ भन्ने नाराको साथ असोज २६ गतेदेखी झापाबाट शुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा कार्तिक २८ गते सम्पन्न हुनेछ । भोली शुक्रवार आश्रमको टोलीले त्रियुगा नगरपालिकाको गाईघाट लगायत वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य रहेका सहयोगापेक्षी सडक मानवलाई उद्धार गर्ने कार्यक्रम रहेको बर्तौलाले जानकारी दिएका छन् ।