कोशी वाढीपीडितलाई ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालको सहयोग।

२४असोज २०८१, सन्तोष कुमार रौनियार…

ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालको सहयोग साथै चौदण्डीगढी नगरपालिकाको सहजीकरणमा बाढी प्रभावित बंशिलाघाटका बाढीपीडितहरुलाई राहत वितरण गरिएको छ । ह्याबिटाट नेपालका कार्यक्रम प्रबन्धक विजय प्रसाद गुप्ता र हुरेन्डेक नेपालका सल्लाहकार दुर्गा थापा स्वस्तीकको नेतृत्वमा आएको टोलीले एक कार्यक्रमको बीच चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामालाई मंगलबार राहत सामाग्री हस्तान्तरण गरेका छन् । म्याट थान–१, ब्ल्याङकेट थान–१, त्रिपाल थान–१, डोरी १ थान रहेको आकस्मिक सेल्टर किट सेट र जस्तापाता १२ घर परिवारलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएकोमा वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईसहित ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालका प्रतिनीधिहरुले बाढीपीडित परिवारलाई बंशिलघाटमा पुगेरै राहत सामाग्री वितरण गरेका छन् । बंशिलाघाटका १० घर बाढीपीडित परिवार र अखडाका २ घर पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष राईले जानकारी दिएका छन् । हस्तान्तरण कार्यक्रममा नगर प्रमुख लामा , पुर्व नगर प्रमुख खगेन्द्र राई, एमाले नेतृ कान्ता राई, वडा अध्यक्ष राई ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालका प्रतिनीधि, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।गत असोज ११ र १२ गते दुधकोशी नदीमा आएको बाढीले वडा नम्बर १ बंशिलाघाटको १० घर र पहिरोले अखडाको २ घरमा क्षती पुर्याएको थियो ।

ह्याबिटाट नेपाल र हुरेन्डेक नेपालले सोमबार मात्रै बेलका नगरपालिकाको सहजीकरणमा नगरपालिका भित्रका वडा नं १,२,३,६ र ८ मा गरी जम्मा ८१ घरधुरी बाढीपीडित परिवारलाई प्रति घरपरिवार ओछ्याउने म्याट थान–१, ब्ल्याङकेट थान–१, त्रिपाल थान–१ लगायतका सामग्रीहरु बितरण गरेकोे थियो । यसअघि बंशिलाघाटका  बाढीपीडित परिवारलाई नेपाली कांग्रेस चौदण्डीगढी नगर समिति, राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटी, एमाले नेता शम्भु पौडेल संयोजक रहेको नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखा लगायतले पनि खाद्यान्य लगायतको सहयोग सामाग्री प्रदान गरेको थियो ।