२२ असोज २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको बेल्टारमा संचालनमा रहेको आधारभुत नगर अस्पताल बेल्टारको सेवा सुबिधा थप गरिएको छ । नगर प्रमुख कालुमान लामाको शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता अनुरुप नगर अस्पतालको सेवा सुबिधा थप गरिएको हो ।
यसअघि सामान्य किसिमको रोगहरुको मात्र परिक्षण हुने ल्यावमा अब जटिल किसिमका रोगहरुको पनि परिक्षण हुन थालेको छ भने अस्पतालले ओपीडि सेवा समेत बिहान ७ बजेदेखी नै शुरु गरेको छ । अस्पतालले एमविविएस डाक्टर थप गर्नाका साथै ल्याव र फार्मेशीमा पनि आबश्यक कर्मचारी थपेर सेवालाई ब्यबस्थित गर्दै लगेको हो । अस्पतालले ओपीडि सेवा , ल्याव सेवा, फार्मेशी सेवा लगायतका सेवाहरु बिहान ७ बजेदेखी नै दिन शुरु गरेको छ भने २४ घण्टा नै ईमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख ब्यबस्थापक मोहन सुबेदीले बताएका छन् । अस्पतालले विरामीहरुलाई न्युन दररेटमा उपचार गर्ने उदेश्यले ल्याब, एक्सरे, भिडियो एक्सरे, ई. सि. जि. सेवाको दररेट स्वास्थ्य विमा सो सरह गरेको छ । त्यस्तै आकस्मिक सेवाको टिकट दस्तुर निः शुल्क बनाएको छ भने सबै प्रकारका औषधीहरूमा ५ प्रतिशत छुट दिदै आएको छ । यस्तै थाईराईड, भिटामिन डि, भिटामिन वि टुवेल, प्रोस्टेडमा क्यान्सर जाँच , रक्त अल्पताको कारणको जाँच, बाथ रोग सम्बन्धी जाँच पनि शुरु गरेको प्रमुख ब्यबस्थापक सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीले यही कार्तिक १ गते देखि स्वास्थ्य विमा गरेका विरामीको आखाँको उपचार पनि बिमा मार्फत गर्ने जानकारी दिदै नगर अस्पतालबाटै फिजियोथेरापी र दाँत उपचार सेवा समेत केही समय भित्रै सुरु गर्ने तयारी गरेको बताएका छन् । यसले स्वास्थ्य विमा गरेका विरामीहरुले लाभ लिनसक्ने उनले बताएका छन् । हाल स्वास्थ्य विमा गरेका विमितहरुले नगर अस्पतालबाट पाउने स्वास्थ्य चेकजाँच र औषधी निःशुल्क प्राप्त गरिरहेका छन् भने अब आँखा, दाँत र फिजियोथेरापी उपचार सेवा पनि विमा मार्फत उपलब्ध गराईने सुवेदीले बताएका छन् । विरामी तथा कुरुवाका सहजताका लागि अस्पताल हातामै चमेना गृह पनि संचालन गरिएको उनले जानकारी दिएका छन् ।