बंशिलाघाटका बाढीपीडितलाई चौदण्डीगढी नगरपालिकाको थप सहयोग ।

२१असोज २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले गत हप्ता असोज १२ गते दुधकोशी नदीमा आएको बाढीका कारण घरवार विहिन भएका वडा नम्बर १ बंशिलाघाटका बाढीपीडितहरुलाई थप सहयोग गरेको छ । आज नगर प्रमुख कालुमान लामा र प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईलाई बाढीपीडित परिवारका लागि जस्तापाता र किला हस्तान्तरण गरेका छन् । बाढीले पूर्ण बिस्थापित ३ घर परिवारलाई ३० एमएम को रंगीन जस्तापाता प्रति घर तीन वण्डलका दरले ९ वण्डल र ५ घर परिवारलाई २६ एमएमको सेतो जस्तापाता प्रति परिवार २ वण्डलका दरले १० वण्डल हस्तानतरण गरेका हुन् ।

नगर प्रमुख लामाले चाडवाडको मुखमा कोही पनि नागरिक घरवार विहिन वन्न नपरोस् र उनीहरुले दशैं छानामुनी मनाउन सकुन् भन्ने उदेश्यले जस्तापाता वितरण गरिएको बताएका छन् । यसअघि नगरपालिकाले १० घर वाढीपीडितहरुलाई प्रति परिवार १ बोरा चामल, १ के.जी. दाल, १ प्याकेट नुन, १ प्याकेट तेल, १ वटा त्रिपाल र १ वटा कम्बल वितरण गरेको थियो । प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ आफै खाद्यान्य लगायतका राहत सामाग्री लिएर बंशिलाघाट पुगेका थिए ।