उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ७ बेल्टार बजार घोरेटो लाईन र वडा नम्बर ८ को विरेन्द्रबजार सिमलटार जोड्ने द्वारखोलामा निमार्ण सम्पन्न झुलुङ्गे पुलको आज उद्घाटन गरिएको छ । नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमकोबीच झुलुङ्गे पुलको उद्घाटन गरेका हुन् । पिटिएयि र टिविएसयु तथा ग्रामिण बाताबरण विकास केन्द्रको प्राबिधिक सहयोगमा पुर्वाधार विकास कार्यालय उदयपुरले उपभोक्ता समितिमार्फत पुल निमार्ण गरेको हो ।
बेल्टार–बिरेन्द्र बजार हुँदै धाप्लाङ सडकमा पर्ने सिमलटार घोरेटो स्थित द्वारखोलामा ६७ लाख ८६ हजर ९ सय ४७ रुपैयाको लागतमा झोलुङे पुल निमार्ण भएको हो । कोशी प्रदेश सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मार्फत नगद ३० लाख ४९ हजार ९ सय ४६ रुपैयाँ तथा जिन्सी एवम श्रम सहयोग वापत ३१ लाख ८२ हजार ९० रुपैया विनियोजन भएपछि पुल निर्माण हुने सुनिश्चिता भएको थियो । पुल निर्माणका लागि संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यालय मार्फत जिन्सी एवम श्रम सहयोग वापत ४ लाख १९ हजार १ सय ७२ रुपैया र स्थानिय श्रमदान मार्फत १ लाख ३५ हजार ७ सय ३८ रुपैया गरी कुल ६७ लाख ८६ हजर ९ सय ४७ रुपैयाको लागतमा ७० मिटर लम्बाइ र १२० सेन्टीमिटर चौडाईको झुलुङ्गे पुल निमार्णको कार्य सम्पन्न भएको थियो ।
झण्डै २ बर्ष अघि नै निमार्ण सम्पन्न भएर संचालनमा रहेको पुलको आज नगर प्रमुख लामाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले विकास निमार्णको कार्यमा सबै दलको साझा धारणा बनाए कार्य गरिरहेको बताएका थिए । उनले पुलको रेखदेखका लागि नगरपालिकाबाट एक जना हेरालुको ब्यबस्था गरिदिएको समेत जानकारी दिएका थिए । यस्तै नगर प्रमुख लामाले नेपालीहरुको साझा चाड वडा दशै, तिहार तथा छठ पर्वको शुभकामना दिदै चाडपर्वहरु सामान्य र छिमेकीलाई असर नपर्ने गरी मनाउन पनि सुझाव दिएका थिए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व नगर प्रमुख खगेन्द्र राईले योजना पर्नु वा आउनु मात्र नभएर योजना छिटो र पारदर्शीरुपमा सम्पन्न हुनु महत्वपुर्ण रहेको भन्दै पुल निमार्णले विरेन्द्र बजार, सिमलटार, शिखरपुर, सिद्धिपुर लगायतका जनतालाई सहज भएको बताएका थिए । उनले पुलको संरक्षण गर्ने जिम्मेवारी पनि यँहीको जनताको भएको बताएका थिए । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर, नगर कार्यपालिका सदस्य तिलावत्ती राई, नेकपा एमालेका नगर अध्यक्ष विकास बञ्जरा, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । कार्यक्रम पुल निमार्ण उपभोक्ता समितिकी अध्यक्ष पार्वती राईको अध्यक्षतामा भएको थियो ।