नेपाली कांग्रेस चौदण्डीगढी नगर कमिटीद्वारा शिक्षा र स्वास्थ्यको बिषयमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण ।

६ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

नेपाली कांग्रेस चौदण्डीगढी नगर कमिटीले शिक्षा र स्वास्थ्यको बिषयमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति खगेन्द्र राईको नेतृत्वमा नगर सभापति राजेन्द्र पौडेल, सचिवद्वय रोहितमान तामाङ्ग र दिपक खड्का लगायतका नेता कार्यकताहरुको टोलीले आज विहिबार नगर प्रमुख कालुमान लामालाई भेट गरी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले राजनीतिक पहुँचका आधारमा शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्रहरुमा आफुखुशी मनोमानी ढंगले गतिबिधीहरु गरिरहेको बताउदै सर्वसाधारण नागरिकहरुले सहज ढंगले सेवासुविधा पाउनु पर्ने माग गरेको छ । ध्यानाकर्षण पत्रमा नगरपालिकामा प्रतिपक्ष पनि छन् भन्ने कुराको हेक्का नराखी जुन किसिमका गतिबिधिहरु बढीरहेका छन् त्यसप्रति नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपाली कांगेस चौदण्डीगढीले नगर अस्पताल बेल्टारबाट नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको औषधी नपाईरहेको, स्वास्थ्य विमाबाट पाउने औषधी समेत नपाइरहेको, नगर अस्पतालमा आकस्मिक सेवाको नाममा सेवाग्राहीबाट शुल्क लिने गरिएको, प्रक्रिया पुरा नगरी औषधी तथा स्वास्थ्य उपकरणहरु खरिद गरिएको उल्लेख छ । त्यस्तै शिक्षा ऐन तथा संघिय परिपत्र विपरित शिक्षकलाई विज्ञ भनी राखिएको, नयाँ शिक्षक नियुक्ती प्रक्रियामा शिक्षण अनुमति पत्र नभएकाहरुलाई पनि तथा आफ्नो पार्टीमा आबद्ध भएकाहरुलाई मात्र नियुक्ती गरिएको , गुणस्तरीय शिक्षाको नाममा अन्य पार्टीमा आस्था राखेको कारण २०औं बर्षदेखी कार्यरत राहत, अनुदान तथा करार शिक्षकहरुको आत्मसम्मानमा ठेस पुग्ने गरी शिक्षा ऐन नियमावलीको मर्म विपरित सरुवा गरेको साथै म्याद थप नगर्ने कार्य गरेको र शिक्षक संघका शिक्षकहरुलाई संगठनको रसिद काट्न दवाव दिईएको साथै शैक्षिक उपलब्धीको कारण देखाएर विभेदकारी कार्य गरेको भन्दै सच्याउन अनुरोध गरिएको छ । त्यस्तै करारका कर्मचारीको म्याद थपमा पार्टीको आस्थाको कारण विभेद गरीएको , नगरपालिकाको सरकारी मोटरसाईकललाई ब्यक्तिगत रुपमा नीजि प्रयोजनमा रातो प्लेट लगाई प्रयोग गरिएको लगायतका बिषयहरु उल्लेख गरी यस्ता कार्य निन्दनीय, गैर लोकतान्त्रिक भएको जनाउदै त्यस्ता कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ ।

नगर प्रमुख लामाले ध्यानाकर्षण पत्र बुझदै नेपाली कांग्रेसले राखेको मागप्रति गम्भिर भएको जनाउदै यसले नगरपालिकाले गर्न खोजेको कामहरुमा सहयोग पुग्ने बताएका थिए । उनले ध्यानाकर्षण पत्रमा उल्लेखित मागहरुको बुँदागतरुपमै जवाफ दिदै नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न कार्यहरु गरिरहेको बताएका थिए । उनले नेपाल सरकारले उपलब्ध गराउनुपर्ने निः शुल्क औषधीहरु उपलब्ध गराउन नसकेको स्वीकार गरेका थिए । त्यस्तै स्वास्थ्य विमाबाट उपलब्ध गराउनुपर्ने औषधीहरु पुरानो ठेकेदारका कारण उपलब्ध गराउन नसकिएको बताउदै अबदेखी नगर अस्पतालले नै फार्मेशी संचालन गर्न थालेपछि त्यसमा सुधार देखिएको, नगर अस्पतालमा बिज्ञ मोहन सुवेदीलाई जिम्मेवारी दिएर अस्पतालको ब्यबस्थापनको सुधार गर्न खोजिएको बताएका थिए । त्यस्तै आस्थाका आधारमा कुनै पनि शिक्षक कर्मचारीलाई विभेद नगरिएको दावी गर्दै नगर प्रमुख लामाले शैक्षिक उपलब्धीे देखाउन नसकेका २१ जना शिक्षकहरुको नाम आएको र उनीहरुलाई सचेत गराउने कार्यमा नगरको शिक्षा सुधारका लागि त्यसमा सहयोग गर्न आग्रह गरेका थिए । साथै नगर प्रमुख लामाले अन्य बिषयहरुमा पनि सहकार्य गरेर अगाडी बढ्न् प्रतिबद्धता ब्यक्त गरेका थिए ।