चौदण्डीगढी नगर शिक्षा शाखाद्वारा बिपन्न बिद्यार्थी शिक्षा छात्रबृती वितरण ।

४ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले विपन्न बिद्यार्थी शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगरमा संचालित सामुदायिक माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा आज भएको कार्यक्रममा नगर शिक्षा तथा खेलकुद शाखाले ९ वटा सामुदायिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ७१ जना तथा २ वटा क्याम्पसमा अध्ययनरत १५ जना छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । अपांगता, दलित, पिछडिएका बर्ग तथा आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीहरुलाई छात्रवृत्ति मापदण्ड तयारगरी छात्रबृती प्रदान गरिएको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् । बिद्यालयका बिद्यार्थीहरुलाई ८ हजार रुपैयाँ तथा क्याम्पसका बिद्यार्थीलाई जनही १२ हजार रुपैयाँ छात्रबृती वापत रकम प्रदान गरिएको कुवँरले बताएका छन् । बैंक खाता उपलब्ध गराएका ६७ जना बिद्यार्थीको बैंक खातामै रकम पठाइएको छ भने बिभिन्न कारणले बैक खाता उपलब्ध गराउन नसकेका १९ जना बिद्यार्थीहरुलाई नगद रकम वितरण गरिएको छ ।

नगरमा कक्षा १२ सम्म संचालित माध्यमिक बिद्यालयहरु ज्योती माबी बेल्टार, सिंहदेबी माबी माडिबास, नारद आदर्श माबी बसहा, श्री माबी आमसाल, श्री माबी सिवाई, जनता नमुना माबी हडिया, जनता माबी लुङिन्टार, कालिका माबी सिर्वानी र थानपोखरी माबी ज्यामिरे , यस्तै ज्योती जनता बहुमुखी क्याम्पस सातधारे र नारद आदर्श शिक्षा क्याम्पस बसहाका बिद्यार्थीहरुलाई छात्रबृती वितरण गरिएको हो । छात्रवृत्तिको पैसाले कपी , कलम, किताब किन्नलाई सहयोग पुग्ने र यस्ले पठनपाठनमा सहजता प्रदान गर्ने भन्दै छात्रबृती पाएका बिद्यार्थीहरुले खुशी ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगरले गरिवीका कारण शिक्षाबाट कोही पनि बन्चित हुनु नपर्ने बताउदै क्याम्पस तहसम्मको पढाईको जिम्मेबारी नगरपालिकाले लिने बताएका थिए । नगरपालिकाले यस आर्थिक बर्ष पनि छात्रबृतीका लागि ११ लाख रुपैयाँ विन्योजन गरेको छ ।