४ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

- चौदण्डीगढी नगरपालिकामा झण्डै ५० जनामा डेंङ्गी रोगको संक्रमण पुष्टी ।
- भदौ ५ गतेदेखी जनचेतामुलक कार्यक्रम र लामखुट्टे बिरुद्ध औषधी छर्किने कार्य संगसंगै गरिने।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि डेंङ्गी संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । नगरको मुख्य ब्यापारिक केन्द्र बेल्टार बजारमा संचालित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पताल बेल्टार, हिरा पोलिक्लिनिक , संजीव मेडिकल हल र चौदण्डीगढी हस्पिटलबाट प्राप्त तथ्याङ्ग अनुसार नगरमा हालसम्म झण्डै ५० जनामा डेंङ्गी रोगको संक्रमण पुष्टी भएको छ । यो संख्या २५ दिनअघि ८ जना मात्र थियो । गत महिनादेखीको तथ्याङ्क अनुसार नगर अस्पताल बेल्टारमा १५ जना, हिरा पोलिक्लिनिकमा १४ जना, संजीव मेडिकल हलमा १५ जना र चौदण्डीगढी हस्पिटलमा ४ जना विरामीमा डेंङ्गी रोगको संक्रमण फेला परेको छ । संक्रमितहरुमध्ये अधिकांश वडा नम्बर ३ बसहा क्षेत्र र वडा नम्बर ८ सिद्धिपुर क्षेत्रका रहेका छन् । संक्रमितहरु अधिकांशको उपचारपछि निको भएको हिरा पोलिक्लिनिककी संचालक हिरा चौधरीले जानकारी दिएकी छिन् ।
संक्रमित एडिस एजिप्टाई लामखुट्टेले टोकेमा डेंङ्गीको संक्रमण हुनसक्छ भने डेंङ्गीको संक्रमण भएमा उच्च ज्वरो आउने , जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने , आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्नु वा वान्ता हुनु आदी लक्षण देखिने नगर अस्पताल बेल्टारका प्रमुख डा. अमृत कर्णले बताएका छन् । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकसंग सम्पर्क गर्नुपर्ने र चिकित्सकको सल्लाहबिना कुनैपनि औषधि सेवन गर्न नहुने डा. कर्णले बताएका छन् । यस्तै लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, यो लामखुट्टे मानिसको वस्ती वरीपरि प्राकृतिक वा कृतिम रुपमा जमेको पानीमा फुल पारेर वृद्धि विकास हुने भएकाले यसको लार्भा नष्ट गर्नुपर्ने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने , पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने आदी गर्नुपर्ने डा. कर्णको भनाई छ ।
दिनदिनै डेंङ्गी रोगको संक्रमण बढ्दै गएपछि नगर स्वास्थ्य शाखा चौदण्डीगढीले जनचेतामुलक कार्यक्रम र लामखुट्टे बिरुद्ध औषधी छर्किने कार्य संगसंगै गर्ने भएको छ । नगर स्वास्थ्य शाखाका उप प्रमुख हिमालय पौडेलका भदौ ५ गते बुधबारदेखी लामखुट्टे बिरुद्ध औषधी छर्किने कार्य शुरु गरिने र भदौ ७ गते बेल्टार बजारमा तथा भदौ १० गतेसम्ममा नगरका अन्य वडाहरुमा जनचेतनामुलक र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान संगसगै संचालन गरिने बताएका छन् । एता बेल्टार बजार क्षेत्रको फोहर मैला नउठेको महिना दिनभन्दा बढी भैसकेको भन्दै बेल्टार बजारका स्थानीय ब्यापारी ब्यबसायीहरुले लामखुट्टे रोकथामका लागि फोहर मैलाको ब्यबस्थापन पनि गर्नुपर्ने बताएका छन् ।
