बेल्टारमा सर्पदंश उपचार सेवा विस्तार गर्न नेपाली सेना सकरात्मक ।

३ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको बेल्टारमा सर्पदंश उपचार सेवा विस्तार गर्न नेपाली सेना सकरात्मक देखिएको छ । बि.स. २०७६ सालसम्म बेल्टारमा संचालन भएर बन्द भएको सर्पदंश उपचार सेवालाई पुनः संचालन गर्न नेपाली सेना सकरात्मक देखिएको हो । आज सोमबार बेल्टार बजारस्थित आधारभुत नगर अस्पताल बेल्टारमा यस बिषयमा सरोकारवालाहरुबीच भएको छलफलमा त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको १८ नम्बर बाहिनी अड्डास्थित सर्पदंश उपचार सेवालाई बेल्टारमा पनि बिस्तार गरेर सेवा संचालन गर्न सकरात्मक रहेको प्रमुख सेनानी (कर्णेल) हिमाचल जंग शाहले बताएका छन् ।

यसअघि बेल्टारमा सर्पदंश उपचार सेवा संचालनमा रहेको तर विविध कारणले सो सेवा रोकिएपछि बिशेषतः नेकपा एमाले उदयपुरका नेताहरुले फेरी सेवा संचालन गर्न रक्षामन्त्री मानवीर राई लगायतलाई आग्रह गरेपछि त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा रहेको १८ नम्बर बाहिनी अड्डाबाट प्रमुख सेनानी शाहको नेतृत्वमा १८ नम्बर बाहिनी सर्पदंश टिमका कमान्डर सुवेदार दिलबहादुर खड्का सहित आएको एक टोलीले आधारभुत नगर अस्पताल र वडा नम्बर ६ सातधारेस्थित कोभिड अस्पतालको स्थलगत अबलोकन गरेका थिए । अबलोकनका क्रममा देखिएको कुरालाई प्रतिवेदन बनाएर माथिल्लो निकायमा पठाउने र माथिबाट निर्देशन प्राप्त हुनासाथ अस्थायी सर्पदंश सेवा केन्द्र स्थापना गरि सेवा संचालनमा ल्याईने शाहले जानकारी दिएका थिए । त्यसअघि भएको छलफलमा सर्पदंश टिमका कमान्डर सुवेदार दिलबहादुर खड्काले बेल्टार वरिपरीको क्षेत्र सर्पदंश तथा किराहरुको टोकाई हुने क्षेत्र भएकोले यस क्षेत्रको आबश्यक्तालाई पहिचान गरेर सेनाले यसअघि पनि सर्पदंश सेवा संचालन गरेको जानकारी दिदै सुरक्षाको प्रत्याभुती, स्थानीय सरकारबाट लजेस्टिक सपोर्ट, सेवा संचालनका लागि उपयुक्त स्थान लगायतमा सहयोग भएमा सेवा संचालन गर्न सकिने ब्रिफिङ्ग गरेका थिए ।

यस्तै चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले सर्पदंश सेवा संचालनमा स्थानीय सरकारको सहयोग रहने प्रतिबद्धता जनाउदै कुन मोडालिटी अनुसार संचालन गर्ने हो त्यसको विस्तृत रिपोर्ट पाएमा सर्वपक्षीय छलफल गरेर यस बिषयलाई टुंग्याउन सकिने बताएका थिए । यस्तै आधारभुत नगर अस्पताल बेल्टारका प्रमुख डा. अमृत कर्णले अस्पताल आफैले पनि सेवाहरुलाई बिस्तार गरिरहेको बताउदै कोठाहरुको अभाव रहेको तर पनि आबश्यक सहयोग गर्न तत्पर रहेको बताएका थिए भने अस्पताल कै स्वास्थ्यर्मी सिनियर अहेव तेज बहादुर पोखरेलले कोभिड अस्पतालमा धेरै कुराको सहजता हुने भएकोले त्यहाँ सर्पदंश उपचार केन्द्र संचालनमा ल्याउन सकिने सुझाव दिएका थिए । बेल्टारमा यसअघि २०७६ सालसम्म सर्पदंश सेवा संचालनमा रहेको थियो भने पछि बिबिध कारणले बन्द भएको थियो ।

पछिल्लो दिनमा कोशी प्रदेशका उप सभामुख सृजना दनुवार, उदयपुर क्षेत्र नम्बर २ का संघीय सांसद अम्बर रायमाझी, नेकपा एमाले नेतृ मन्जु चौधरी, नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउत, चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी लगायतले बेल्टारमा फेरी सर्पदंश उपचार सेवा शुरु हुनुपर्ने भन्दै सम्बन्धित निकायमा पहल गर्दै आएका थिए ।