पछिल्लो समय उदयपुरमा एमाले प्रवेशको लहर तिब्र !

७ भाद्र २०८१, सन्तोष कुमार रौनियार…

*एमाले नेतृत्वको नगर सरकारले गरेको विकास निमार्णका कामहरुप्रति जनताको बिश्वास र भरोसा बढेकोले एमाले प्रवेशको लहर चलेको : कालुमान लामा
*दुई दशक देखी उदयपुरको बिकास गर्छु भन्दै बर्तमान संघीय सांसदले जनतालाई ठगिरहेको :भागवत राउत
* एमाले नेतृत्वको स्थिर सरकार देशले चाहेको :मन्जु कुमारी चौधरी

पछिल्लो समय उदयपुरमा एमाले प्रवेशको लहर तिब्र रुपमा देखिएकोे छ । आज पनि उदयपुरको चौदण्डीगढी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि ३६ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ स्थित स्कुलबारीका आज भएको पार्टी प्रबेश कार्यक्रममा स्कुलबारीका ३० जना, अजिङरेका ३ र भान्जीडाडाका ३ जना गरि ३६ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउतले जानकारी दिएका छन् । रवतका अनुसार पार्टी प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट २० जना, नेपाली काङ्ग्रेसबाट ९ जना र रास्वपा बाट ७ जना रहेको छन् । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् उदयपुर इन्चार्ज मन्जु कुमारी चौधरी, एमाले उदयपुर अध्यक्ष भागवत राउत, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, एमाले नेता शम्भु पौडेल, कुशलबाबु बस्नेत, खम्बर मगर लगायतले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एमाले नेतृत्वको नगर सरकारले गरेको विकास निमार्णका कामहरुप्रति जनताको बिश्वास र भरोसा बढेकोले एमाले प्रवेशको लहर चलेको बताएका थिए । नगर प्रमुख लामाले संघिय सांसद डाक्टर नारायण खड्काप्रति लक्षित गर्दै जनप्रतिनिधिहरुले जनताको चाहना अनुसार काम नगर्ने हो भने उनीहरुलाई नेता मान्न नसकिने जिकिर गरेका थिए । डाक्टर खड्काले २५ बर्षदेखी यस क्षेत्रबाट चुनाव जिते पनि विकास निमार्णको काम गर्न नसकेको नगर प्रमुख लामाको भनाई थियो। उनले देशको बिकास गर्न ३ वटै तहमा नेकपा एमालेको बहुमत सहितको सरकार हुन जरुरी रहेको बताएका थिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उदयपुरका जिल्ला अध्यक्ष भागवत राउतले पनि संघिय सांसद डाक्टर खड्काप्रति लक्षित गर्दै बिगत दुई दशक देखी उदयपुरको बिकास गर्छु भन्दै बर्तमान संघीय सांसदले जनतालाई ठगिरहेको बताएका थिए । उनले बिकास बादीको पगरी गुथ्ने तर बिकास नगर्ने नेताको पहिचान अबको दिनमा हुनुपर्ने जिकिर गरेका थिए ।

त्यस्तै पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य एवंम उदयपुर जिल्ला इन्चार्ज मन्जु कुमारी चौधरीले अस्थिर सरकारको कारणले भुमिहिनको समस्या समाधान नभएको भन्दै संघमा एमालेको सरकार बनेको र निकट भविश्यमा नै भुमिहिनको समस्या समाधान हुने दावी गरेकी थिईन् । एमाले नेतृत्वको स्थिर सरकार देशले चाहेको बताउदै चौधरीले मिसन ८४ सफल बनाएर बहुमतको सरकार निर्माणमा सबैलाई सहभागी हुन आग्रह गरेकी थिईन ।