एसईईमा राम्रो नतिजा नआएपछि चौदण्डीगढी नगरपालिकाद्वारा समिक्षा ।

१८आसार २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले एसईईको नतिजामा नगरमा संचालित बिद्यालयको प्रदर्शनलाई लिएर समिक्षा गरेको छ । नगर शिक्षा शाखाले मंगलबार बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आयोजना गरेको समिक्षा कार्यक्रममा गत बिहिवार प्रकाशित एसईई २०८० को नतिजामा बिद्यालयहरुले राम्रो नतिजा ल्याउन नसकेको विषयमा सामुदायिक बिद्यालयको प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई बोलाएर समिक्षा कार्यक्रम गरेको हो । एसईई २०८० को नतिजामा चौदण्डीगढी नगरपालिकाबाट १९ वटा सामुदायिक बिद्यालयहरु सहभागी भएकोमा ५ वटा बिद्यालयको नतिजा शुन्य आएको थियो भने समग्रमा १७.७९ प्रतिशत परिक्षार्थी मात्र उत्तिर्ण भएका थिए । सामुदायिक बिद्यालयबाट ७ सय ८ जना परिक्षार्थी सहभागी भएकोमा १२६ जना मात्र उत्तिर्ण भएपछि त्यसको आलोचना भएको थियो । नगरपालिकाले नगरको शिक्षा सुधारका लागि बिभिन्न प्रयासहरु गरिरहेको भएता पनि नतिजा भने निराशाजनक भएपछि शिक्षा शाखाले उनीहरुलाई बोलाए समिक्षा गरेको हो ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले प्रधानाध्यापकहरुलाई थप अधिकार दिएर प्रशासनिक कार्यमा बढी केन्द्रित गराउने, बिद्यालयहरुको अनुगमनलाई तिव्रता दिने , कक्षा ५ र कक्षा ८ को नगरस्तरीय बार्षिक परीक्षा संचालन गर्ने, अभिभावकहरुमा जनचेतनामुलक कार्यक्रम लिएर जाने, बिषयगत शिक्षकहरुसंग पनि छलफल गरेर सुधारका कार्यहरु गर्ने बताएका थिए । उनले कार्यक्रममा अधिकांश बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्षहरु उपस्थित नभएकोमा भने असन्तुष्टी जनाउदै गैर जिम्मेवार भएको टिप्पणी गरेका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले शैक्षिक पढाई तालिका, शैक्षिक सामाग्रीको प्रयोग लगायतमा बिशेष जोड दिनुपर्ने बताएका थिए ।

यस्तै समिक्षा बैठकमा सहभागी हुदै जनता नमुना माबि हडियाका प्रधानाध्यापक राम बहादुर राउतले शैक्षिक बाताबरण सुधार गर्नुपर्ने, बालबिकासदेखी नै सुधार गर्दै लानुपर्ने, बिषयगत शिक्षकहरुले बार्षिक शैक्षिक योजना बनाएर १० बर्षे योजना लागु गर्नुपर्ने, बिद्यालयप्रति अभिभावकहरुलाई जिम्मेबार बनाउनुपर्ने, प्रधानाध्यापकलाई करार गराएर जिम्मेबारीसहित थप अधिकार प्रदान गर्नुपर्ने, शिक्षकहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने, शिक्षक प्रबिधिमैत्री हुनुपर्ने साथै धेरै बिद्यालयहरु राख्नुभन्दा बिद्यालयहरु मर्जर गरेर राम्रो बिद्यालयहरु मात्र संचालन गर्नुपर्ने धारणा राखेका थिए । एता सरस्वति मावी साँवा सिद्धिपुरका प्रधानाध्यापक रित बहादुर मगरले कोरोनाको समयमा बिद्यार्थीहरुलाई सिधै पास गराएकोले त्यसको असर अहिलेको रिजल्टमा देखिएको दावी गरेका थिए भने ज्योति मावी बेल्टारका प्रधानाध्यापक राकुमार ओझाले परीक्षा सेन्टरका कारणले बिद्यार्थीहरुले तनावमा परीक्षा दिनुपरेकोले त्यसको असर रिजल्टमा परेको बताएका थिए । यस्तै समिक्षा बैठकमा मावी सिवाईका प्रधानाध्यापक दिनेश ढुंगानासहित अन्यले बिषयगत शिक्षक नभएको, शिक्षकको अभाव, शिक्षकहरुले पढाउने परम्परागत शैली, प्राबि तहको शिक्षकले मावी तहका बिद्यार्थीलाई पढाउनुपर्ने बाध्यता, अभिभावकहरुको कम चासो र बिद्यार्थीहरु मोवाईलमा अल्झेको बिषयलाई एसईईको नतिजा खराव हुनको कारण बताएका थिए । उनीहरुले आत्मलोचना गर्दै आगामी दिनमा नतिजा राम्रो ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।