चारघरे बहुउदेश्य कृषी तथा पशुपंक्षी कृषक समुहलाई चौदण्डीगढी नगरपालिकाको थप ५ लाख सहयोग।

१७आसार २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको वडा नम्बर २ चारघरेस्थित चारघरे बहुउदेश्य कृषी तथा पशुपंक्षी कृषक समुहलाई थप ५ लाखको कृषी प्रबिधी प्रदान गरेको छ । सोमबार चारघरेमा आयोजित सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख कालुमान लामाले समुहलाई प्रबिधि हस्तान्तरण गरेका हुन् । आर्थिक बर्ष २०७९/८० मा स्थापना भएको धानवाली पकेट विकास कार्यक्रमलाई निरन्तरता दिदै प्रबिधि प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले बताएका छन् । नगरपालिका अन्तर्गतको कृषी शाखाले यस बर्ष पनि हाते ट्रयाक्टर पावर टिलर १ थान , धान गोड्ने कम्वाईन सेट ३ थान , सिचाईं मोटर ४ थान, डिजिटल तराजु १ थान, सिचाईका लागि डेलिभरी पाईप ३५० केजी, धानको विउ, बिसादी लगायतको ५ लाख बराबरको सामाग्री प्रदान गरेको हो ।

नगरपालिकाले आर्थिक बर्ष २०७९/८० वडा नम्बर २ को चारघरे क्षेत्रलाई चैते धानको पकेट क्षेत्र घोषणा गर्दै समुहको सहभागितामा आधारित रहनेगरी १२ लाख रुपैयाँ बराबरको अनुदान सहयोग गर्दै कृषी प्रबिधि वितरण गरेको थियो । जसमा कृषक समुहले पनि थप ४ लाख रुपैयाँ लगानी गरेका थिए ।

कृषी सामाग्री वितरण गर्दै नगर प्रमुख कालुमान लामाले गाँउघरबाट युवाहरु पलायन भैरहेकोले उनीहरुलाई कृषी पेशामा आकर्षित गरेर परिवारसंगै बस्ने बाताबरण बनाउन नगरपालिकाले प्रयास गरिरहेको बताउदै कृषीमा नगरपालिकालाई आत्मनिर्भर बनाउन कृषकलाई तालिक, आबश्यक प्रबिधि हस्तान्तरण गरिरहेको र आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै चारघरे बहुउदेश्य कृषी तथा पशुपंक्षी कृषक समुहका सचिव रतन बहादुर बस्नेतले नगरपालिकाले सहयोग गरेपछि धान, मकैको उत्पादन बढेकोले त्यसबाट कृषकहरु लाभाम्वित भएको बताएका थिए ।