चौदण्डीगढी नगरपालिकामा ५६४ जनालाई अपाङ्गता परिचय पत्र वितरण ।

६ आसार २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जेठ २१ गतेदेखी जेठ २८ गतेसम्म संचालन भएको सप्ताहब्यापी अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता परिचय पत्र वितरण तथा आबश्यक्ता पहिचान शिविरको प्रतिवेदन सार्वजनिक भएको छ । सामाजिक संजालबाट नगर उप प्रमुख मणिकादेवी दुलालले प्रतिवेदन सार्वजिक गरेकी हुन् । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत नगरको १० वटै वडाहरुलाई समेटेर शिविर संचालन गरिएको थियो ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, चौदण्डीगढी नगरपालिका र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंगको प्राधिबिक सहयोगमा नगरको सुन्दुरपुर, हडिया, चौदण्डी, सिद्धिपुर, आमसाल, झोडापाटा, बसहा र बेल्टारमा बिशेषज्ञ चिकित्सकद्वारा अपाङ्गता भएका ब्यक्तिहरुको प्रारम्भिक चेकजाँच गरेर उनीहरुको आबश्यक्ता पहिचान गरेर परिचय पत्र वितरण गरिएको जनाइएको छ । शिविरबाट ७४ जनालाई रातो, ११३ जनालाई निलो, ८१ जनालाई पहेलो र १८ जनालाई सेतो गरी जम्मा २८६ जनालाई परिचयपत्र कार्ड वितरण गरिएको छ । यसअघि नै पालिकाबाट ६४ जनाले रातो, १७४ जनाले निलो, २४ जनाले पहेलो र १६ जनाले सेतो कार्ड गरी २७८ जनाले कार्ड पाएका थिए । योसंगै पालिकामा अपाङ्गता परिचय पत्र पाउनेको संख्या ५६४ जना पुगेको छ । यस्तै अपाङ्गता पहिचान भएका तर परिचय पत्र नपाएकाको संख्या ७१ जना र दर्ता भएका तर विभिन्न कारणले अपाङ्गता चेकजाँच नगराएकाको संख्या ८ जना रहेको छ । यस्तै शिविरमा आएका ७८ जना ब्यक्तिको चेकजाँच गर्दा अपाङ्गता नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकास्थित महिला वालवालिका शाखा प्रमुख एञ्जोला ढकालका अनुसार रातो परिचय पत्र पाएका अपाङ्गता भएका ब्यक्तिले सरकारबाट मासिक ३ हजार ९९० रुपैयाँ, निलो परिचय पत्र पाएकाले मासिक २१ सय २८ रुपैयाँ भत्ता पाउनेछन् भने पहेलो र सेतो परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका ब्यक्तिहरुले राज्यबाट बिभिन्न प्रकारका सेवा सुबिधा प्राप्त गर्नेछन् ।