३१ जेठ २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ले वडामा रहेको सामुदायिक बिद्यालयका लागि शैक्षिक सामाग्री खरिद गरेर विपन्न बिद्यार्थीहरुलाई वितरण रहेको छ । आज ज्यामिरेस्थित वडा कार्यालयमा बिद्यालयका शिक्षक, अभिभावकको उपस्थितीमा बिद्यार्थीलाई कापी, ज्यामिती बक्स र सिलेट वितरण गरेको हो । वडा सचिव पुष्कल राईका अनुसार वडा कार्यालयले जनता मावी हडिया, सिद्धेश्वरी मावी मुसहर्नीया, भगवती मावी मुसहर्नीया, थान पोखरी मावी ज्यामिरे र जनविकास मावि भिमाका कक्षा ६ देखी कक्षा १० सम्मका १ सय जना बिद्यार्थीलाई जनही १४ थान कापी र ज्यामिती बक्स वितरण गरेको छ भने वालमुखी आधारभुत बिद्यालय अजगडा, जनज्योति आधारभुत बिद्यालय ज्यामिरे र जनबिकास आधारभुत बिद्यालय भिमाका वालविकास कक्षामा अध्ययनरत ७० जना वालवालिकालाई सिलेट वितरण गरेको छ । वडा सचिव राईका अनुसार वडाको आर्थिक बर्ष २०८०/८१ को अजगडा नाली निमार्ण शिर्षकको योजनालाई संसोधन गरेर एक लाख १५ हजार रुपैयाँले सामुदायिक बिद्यालयको लागि शैक्षिक सामाग्री खरिद शिर्षकबाट बैशाख २२ गते बसेको वडा समितिको बैठकबाट विपन्न बिद्यार्थीलाई कापी, ज्यामिति बक्स र सिलेट खरिद गरी वितरण गर्ने निर्णय भएअनुसार शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रकाश राउतले वडाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि शुरुदेखी नै सामुदायिक बिद्यालयमा राम्रो लगानी गरिरहेको जनाउदै त्यसको प्रतिफल राम्रो देखिएको बताएका छन् । अध्यक्ष राउतले आगामी बर्षदेखी वडा अध्यक्ष सामुदायिक बिद्यालय कार्यक्रम बनाएर हरेक बिद्यालयमा गएर त्यहाँको आबश्यकता पहिचान गरी वडाले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । अध्यक्ष राउतले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कठोर भएर लाग्ने बताएा छन् ।

यस्तै चौदण्डीगढी नगरपालिका वडा नम्बर २ माडिबासस्थित सिंहदेवी माध्यमिक बिद्यालयका बिधार्थीहरुलाई पनि छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । आज विध्यालय ब्यबस्थापन समिति अध्यक्ष रत्न कुमारी खड्का तथा वडा नम्बर २ का वडा अध्यक्ष हरी बहादुर खड्काको उपस्थितिमा बिद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक कुमार खड्काले जानकारी दिएका छन् ।

