२६जेठ २०८१, सन्तोष कुमार रौनियार…

नेकपा एमाले चौदण्डीगढीमा युवा नेतृत्वले विजयी हासिल गरेको छ । दोश्रो नगर अधिबेशन अन्तर्गत आज भएको नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको चुनावमा निवर्तमान नगर सचिव बिकास बन्जराले निवर्तमान कार्यबहाक अध्यक्ष कृष्ण बहादुर खत्रीलाई ४७ मतान्तरले पराजित गरेका छन् । बन्जराले १६१ मत ल्याएर निर्वाचित हुँदा खत्रीले ११४ मत ल्याएका छन् । जम्मा मतदाता संख्या ३०६ रहेकोमा २८२ मत खसेको थियो । यस्तै उपाध्यक्षमा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राई विजयी भएका छन् । राईले १६१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तिलावती राईले १०५ मत प्राप्त गरेकी छिन् । सचिवमा भने मिना कुमारी राईले १९४ मत ल्याएर विजयी भएकी छिन् । राईकी प्रतिस्पर्धी कर्ण बहादुर थापा काजीले ७५ मत प्राप्त गरेका छन् । त्यस्तै उपसचिव महिलातर्फ कमला खड्का विजयी भएकी छिन् भने खुल्लातर्फबाट जगतराम चौधरी विजयी भएका छन् । खड्का १४० मत ल्याएर विजयी भएकी हुन् भने चौधरीले १२९ मत ल्याउदै विजयी भएका छन् । उपसचिव महिलामा अन्जना कोईरालाले १२३ र खुल्लामा राम प्रसाद मगरले १२४ मत ल्याएका थिए । ५ जना पदाधिकारी र ७० जना सदस्य मध्ये आज पदाधिकारी र ६३ जना सदस्य गरी ६८ जना नगर कमिटीका लागि निर्वाचित भएका छन् । थप ७ जना सदस्य भने पछि मनोनित हुने बताइएको छ । योसंगै नेकपा एमालेको दोश्रो नगर अधिबेशन सम्पन्न भएको छ । यसअघि हिजो वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेनथान मन्दिरको सभाहलमा शुरु भएको अधिबेशनको प्रमुख अथिती नेकपा एमाले स्थाई कमिटी सदस्य तथा जनसंगठण समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले एक कार्यक्रमको बीच उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले युवा र महिलालाई नेतृत्वमा ल्याउनका लागि बिशेष पहल गर्न आग्रह गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । प्रमुख अतिथी ढकालले पद जितेर राजनीति हार्ने तरिकाले काम नगर्न आग्रह गर्दै अधिबेशनपछि आउने नेतृत्वलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
