२४जेठ २०८१, सन्तोष कुमार रौनियार…

भोली शुक्रवार बाट शुरु हुने नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेनथान सहभाहलमा हुने अधिबवेशनको उद्घाटन प्रमुख अथिती नेकपा एमाले स्थाई कमिटी सदस्य तथा जनसंगठण समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ । अधिबेशन तयारीको बारेमा नेकपा एमाले चौदण्डीगढी दोश्रो नगर अधिबेशन आयोजक कमिटीले आज बेल्टारस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जेठ २५ र २६ गते हुने अधिबेशनको तयारी पुरा भएको जनाएको छ । अधिबेशन आयोजक कमिटीको संयोजक निवर्तमान एमाले नगर कार्यबहाक अध्यक्ष कृष्ण खत्रीले अधिबेशनका लागि निमार्ण गरिएको उपसमितिहरुले आफ्नो कार्य अन्तिम चरणमा पुर्याएको बताउदै अधिबेशनको तयारी पुरा भएको बताएका हुन् । अधिबेशन तयारीका लागि आर्थिक व्यवस्थापन , प्रचार प्रसार , प्रतिनिधि व्यवस्थापन, जनपरिचालन ,मञ्च व्यवस्थापन, अतिथि सत्कार लगायतको उप समितिले काम गरिरहेको खत्रीले जानकारी दिएका छन् ।
यस्तै नगर अधिबेशनका लागि मंगलबार र बुधवार नगरको १० बटै वडाबाट प्रतिनीधि छनौट भैसकेको जानकारी दिदै निवर्तमान नगर सचिव बिकास बन्जराले ३०५ जना प्रतिनीधि छनौट भएको बताएका छन् । जसमा बिघटित नगर कमिटीबाट आयोजक कमिटीका रुपान्तरित ७२ जना स्वतः अधिबेशन प्रतिनीधि भएका छन् भने अन्यमा महिलाबाट अनिबार्य ६५ जना, युवाबाट २४ जना र खुल्लाबाट ११२ जना गरी २०१ जना तथा दलितबाट ३२ जना सदस्य अधिबेशन प्रतिनीधिका लागि छनौट भएको बन्जराले जानकारी दिएका छन् । अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव, त्यस्तै ७० जना सदस्य रहनेगरी ७५ सदस्य कार्यसमिति चयन गर्ने बन्जराको भनाई छ । अध्यक्ष पदका लागि निवर्तमान कार्यबहाक अध्यक्ष कृष्ण बहादुर खत्री , विकास बन्जरा, भोलाचन्द्र राई र लोक बहादुर राईकोे नाम चर्चामा रहको छ । यस्तै उपाध्यक्षमा लुंङ्गराज राई, कर्ण बहादुर थापा काजी, त्यस्तै सचिवमा मिना राई र जगतराम चौधरी , उपसचिवमा अन्जना कोईरालाको नाम चर्चामा रहेको छ । यद्यपी नेताहरुले भने सर्वसम्मत नेतृत्व चयन हुने दावी गरेका छन् ।
