२१ जेठ २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको मुख्य सडकलाई अबरोध हुनेगरी गत शुक्रवार फालिएको फोहर आज उठेको छ । नेकपा एमालेका केही ब्यक्तिहरु मिलेर ३ दिनदेखीको फोहर उठाएर बाटोको अबरोध खुलाएको नेकपा एमाले चौदण्डीगढीका नेता शुम्भु पौडेलले बताएका छन्। बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी नगरपालिकाले फोहर नउठाएको भन्दै गत शुक्रवार पसल अगाडीको मुख्य सडकनै अबरोध हुनेगरी फोहर राखेर विरोध गरेका थिए । बेल्टार बजारको लाफा चौक, विपी चौक, ओमशान्ति चौक लगायतका स्थानमा फोहर राखेर मुख्य सडक अबरुद्ध गरेकोमा लाफा चौक बाहेकको अन्य क्षेत्रको फोहर भने नगरपालिकाका सफाई कर्मचारी र नगर प्रहरीको टोलीले उठाएर सडक अबरोध खुलाएको थियो भने लाफा चौकका ब्यापारीले फोहर उठाउन नदिएपछि नगरपालिकाको टिफर र ट्याक्टरसहित आएको सफाई कर्मचारी फोहर नउठाई फर्किएका थिए । ब्यापारीहरुले नियमितरुपमा फोहर उठ्ने सुनिश्चिता नभएसम्म फोहर उठाउन नदिने र नगर प्रमुखले नै आएर प्रतिबद्धता जनाउनुपर्ने माग राखेपछि नगरपालिकाले पनि त्यस क्षेत्रको फोहर छोडेर अन्य स्थानको फोहर उठाएको थियो । तर ३ दिनसम्म पनि नगरपालिकाले फोहर उठाउन नआएपछि तथा फोहर गह्नाएर दुर्गन्ध फैलिएपछि आज नेकपा एमालेका केही ब्यक्तिहरुले लाफा चौकको फोहर उठाएर बाटोको अबरोध खुलाएका हुन् ।
एता नगरपालिकाले भने नगरको फोहर मैलाको दिर्घकालिन ब्यबस्थापनका लागि डम्पिङ्ग साईट निमार्णका लागि स्थानको खोजी गरिरहेको र अहिले पहिचान भएका सबै स्थानमा स्थानीयको विरोध भएपछि फोहरमैला ब्यबस्थापनमा कठिनाई भैरहेको बताएको छ । कठिनाईको बाबजुद पनि नगरपालिका एक कर्मचारीले फोहरमैला ब्यबस्थान गरिरहेको समयमा मुख्य बाटो नै अबरोध गरेर बाटोमा फोहर मैला राखेर बिरोध प्रर्दशन तथा नगरपालिकाको सफाईकर्मीलाई फिर्ता पठाएपछि त्यस बिषयमा छलफल विना फोहर नउठाउने बताएका थिए ।
डम्पिङ्ग साईटको अभावमा विगत ६ महिनादेखी बेल्टार बजारको फोहर नियमितरुपमा उठन सकेको छैन । नगरपालिकाले फोहर ब्यबस्थापन गर्नका लागि गरेको प्रयासहरुले सार्थकता पाएको छैन । नगरपालिकाले यसअघि वडा नम्बर ६ र ९ को सिमाना ज्यामिरेमा निमार्ण गरेको डम्पिङ्ग साईटमा फोहर फाल्न लाँदा स्थानीयले अबरोध गरी सफाईकर्मीलाई दुर्वब्यबहार गरेपनि त्यहाँ फोहर फाल्न सकेको छैन भने वडा नम्बर ६ स–शस्त्र प्रहरी क्याम्प पछाडीको आँप खहरे सामुदायिक वन क्षेत्रको जग्गामा केही बर्षदेखी फोहर फालिरहेको स्थानमा पनि स्थानीय बासिन्दाले बस्ती नजिक फोहर फाल्नाले स्वास्थ्यमा समस्या देखिएको भन्दै फोहर फाल्न रोक लगाएपछि बेल्टार बजारको फोहर उठन सकेको छैन । यस बिषयमा गत बर्ष असोज १६ गते नगरपालिकामा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने र हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन गर्ने सहमति गर्दै नगर प्रवक्ता वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको अध्यक्षतामा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी १५ सदस्यीय फोहर मैला ब्यबस्थापन समिति गठन गरेको थियो । तर उक्त समितिले ठोस कार्य नगर्दै समितिका अधिकांश सदस्यले राजिनामा दिएपछि समितिले काम गर्न सकेन । यस्तै बैशाख ४ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरमा क्रियाशिल दलहरुको सर्वदलिय बैठकले नगरको फोहर ब्यबस्थापनको लागि वडा नम्बर ६ मा संचालित ज्योति माध्यमिक विद्यालय बेल्टारको नाममा रहेको वडा नम्बर ५ ढेलाचौरीस्थित त्रियुगा नदी उकास जग्गामा डम्पिङ्ग साईट निमार्ण गरी फोहर ब्यबस्थापन गर्ने निर्णय गरेको भएतापनि पनि त्यहाँँ पनि बिरोध भएपछि काम अघि बढ्न सकेको छैन ।
