१९ जेठ २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा एकल महिलाहरुका लागि एक महिने ब्याग डिजाईन तथा निमार्ण तालिम आजबाट शुरु भएको छ । उद्यमशिलता सीप विकास तालिम अन्तर्गत सामुदायिक बिकास तथा परिवर्तण केन्द्र गाईघाट उदयपुरको आयोजना र चौदण्डीगढी नगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो । तालिमका लागि २५ जना एकल महिला छनौट गरिएको छ भने तालिम पश्चात उद्योग संचालनका लागि १० लाख रुपैयाँको विउ पुँजीको पनि ब्यबस्था गरिएको छ । कोशी प्रदेश सरकारको ५ लाख, नगरपालिकाको २ लाख ५० हजार र २५ जना सहभागीबाट १०–१० हजारको दरलेगरी २ लाख ५० हजार उठाएर १० लाखको वीउ पुँजी बनाइने बताइएको छ । कार्यक्रमका लागि कोशी प्रदेश सरकारले ७ लाख रुपैयाँ बजेट छुट्टयाएकोमा १ लाख ८० हजार रुपैयाँ तालिम संचालन र २० हजार रुपैयाँ अनुगमन शिर्षकमा खर्च हुने जनाइएको छ ।
आज तालिमको उद्घाटन गर्दे नगर प्रमुख कालुमान लामाले एकल महिलाले आफुलाई दुर्वल सम्झनुभन्दा आफ्नो क्षमतालाई पहिचान गरेर त्यसलाई शक्तिमा बद्लनुपर्ने बताएका थिए । उनले तालिमले क्षमता अभीबृद्धी मात्र नगरेर आर्थिक उपार्जनको राम्रो माध्यम पनि बन्न सक्ने बताउदै नगरपालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले सिपले आत्मनिर्भर बनाउने भएकोले तालिम लिएर आत्मनिर्भर बन्न आग्रह गरेका थिए । साथै एकल महिलाले तालिम पश्चात निमार्ण गर्ने ब्यागको बजारीकरणमा समेत वडाले सहयोग गर्ने बताएका थिए ।
