१८ जेठ २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी नगरपालिकाले फोहर नउठाएको भन्दै पसल अगाडीको मुख्य सडकमा फोहर राखेर विरोध गरेका छन् । बेल्टार बजारको लाफा चौक, विपी चौक, ओमशान्ति चौक लगायतका स्थानमा फोहर राखेर मुख्य सडक अबरुद्ध गरेका हुन् । उनीहरुले फोहर सडकमा राखेको जानकारी प्राप्त हुनासाथ टिफर र ट्याक्टरसहित नगर प्रहरीको नेतृत्वमा सफाईकमी आएर फोहर संकलन गर्न खोजेपनि ब्यापारीहरुले नियमितरुपमा फोहर उठ्न् सुनिश्चिता नभएसम्म फोहर उठाउन नदिने भनेपनि बजारलाईनको फोहर उठन सकेन । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले साप्ताहिकरुपमा फोहर उठाउने ब्यबस्था मिलाउनका लागि प्रयास गर्ने भन्दै गरेको आग्रहलाई उनीहरुले नमानेपछि नगरपालिकाले फोहर उठाउन पठाएको टिफर र ट्याक्टरसहित सफाईकर्मी फर्किएका थिए । डम्पिङ्ग साईटको अभावमा विगत ६ महिनादेखी बेल्टार बजारको फोहर नियमितरुपमा उठन सकेको छैन । नगरपालिकाले फोहर ब्यबस्थापन गर्नका लागि गरेको प्रयासहरुले सार्थकता लिन पाएको छैन ।
नगरपालिकाले यसअघि वडा नम्बर ६ र ९ को सिमाना ज्यामिरेमा निमार्ण गरेको डम्पिङ्ग साईटमा फोहर फाल्न लादा स्थानीयले अबरोध गरी सफाईकर्मीलाई दुर्वब्यबहार गरेपनि त्यहाँ फोहर फाल्न सकेको छैन भने वडा नम्बर ६ स–शस्त्र प्रहरी क्याम्प पछाडीको आँप खहरे सामुदायिक वन क्षेत्रको जग्गामा केही बर्षदेखी फोहर फालिरहेको स्थानमा पनि स्थानीय बासिन्दाले बस्ती नजिक फोहर फाल्नाले स्वास्थ्यमा समस्या देखिएको भन्दै फोहर फाल्न रोक लगाएपछि बेल्टार बजारको फोहर उठन सकेको छैन ।

यस बिषयमा गत बर्ष असोज १६ गते नगरपालिकामा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने र हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन गर्ने सहमति गर्दै नगर प्रवक्ता वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतको अध्यक्षतामा नगरमा क्रियाशिल राष्ट्रिय पार्टीका प्रतिनीधि, वडा नम्बर ६ र ७ का प्रतिनीधि, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिका प्रतिनीधि, संघर्ष समितिका प्रतिनीधिहरु सदस्य रहनेगरी १५ सदस्यीय फोहर मैला ब्यबस्थापन समिति गठन गरेको थियो । तर उक्त समितिले ठोस कार्य नगर्दै समितिका अधिकांश सदस्यले राजिनामा दिएपछि समितिले काम गर्न सकेन । यस्तै बैशाख ४ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरमा क्रियाशिल दलहरुको सर्वदलिय बैठकले नगरको फोहर ब्यबस्थापनको लागि वडा नम्बर ६ मा संचालित ज्योति माध्यमिक विद्यालय बेल्टारको नाममा रहेको वडा नम्बर ५ ढेलाचौरीस्थित त्रियुगा नदी उकास जग्गामा डम्पिङ्ग साईट निमार्ण गरी फोहर ब्यबस्थापन गर्ने निर्णय गरेको भएतापनि पनि त्यहाँँ पनि बिरोध भएपछि काम अघि बढ्न सकेको छैन ।
