१७ जेठ २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको बेसार पकेट क्षेत्र वडा नम्बर १ गडन्तामा बेसार उद्योग संचालनमा आएको छ । सूर्यज्योति महिला बहुउदेश्यीय सहकारी संस्थाद्वारा संचालित हुने चौदण्डीगढी बेसार उद्योगको आज एक कार्यक्रमकाबीच चौदण्डीगढी नगरपालिकाकी उप मेयर मणिकादेवी दुलालले उद्घाटन गरेकी छिन् । बेसार प्रबद्र्धन कार्यक्रम अन्तर्गत चौण्डीगढी नगरपालिकाको झण्डै २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट उद्योग स्थापना भएको हो । बेसार उद्योग संचालनमा आएसंगै यहाँका किसान हर्षित भएका छन् । नगरपालिकामा वडा नम्बर १ चौदण्डी, वडा नम्बर २ माडिबास र वडा नम्बर ८ सिद्धिपुरलाई बेसारको पकेट क्षेत्रको रुपमा मानिन्छ ।
उद्योग स्थापना कार्यक्रमको उद्घाटन गर्दै उप मेयर दुलाललेउद्योग संचालन गर्नु आफैमा चुनौतीपुर्ण कार्य रहेको भनदै सामुहिक सोचकासाथ एकताबद्ध भएर कार्य गरेमा सफलता प्राप्त गर्न सकिने बताएकी थिईन् । उनले राम्रोसंग बेसारको बजारीकरणसंगै शुद्धतामा ख्याल गरेमा बजारको अभाव नहुने बताएकी थिईन् । यस्तै वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईले काम गर्नेलाई सबैले सहयोग गर्ने बताउदै उद्योग स्थापनामा आफ्नो पनि सहयोग रहेको र पछि पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा सूर्यज्योति महिला बहुउदेश्यीय सहकारी संस्थाको भवन निमार्णका लागि एक रोपनी जग्गा दान दिने मिठिमाया राई र गुमानसिंह राई दम्पतिलाई सम्मान समेत गरिएको थियो । उप मेयर दुलालले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेकी थिईन् । कार्यक्रम संस्थाकी अध्यक्ष भद्रमाया खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


