१० जेठ २०८१, सन्तोष कुमार रौनियार…

२५६८ औं बुद्धजयन्ती उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि मनाइएको छ । नेपाल मगर संघ चौदण्डीगढी नम बुद्ध विहार संचालन समितिको आयोजनामा प्रभातफेरी सहित शान्ति स्थापनामा भगवान बुद्धको योगदानको चर्चा गर्दै बुद्धजयन्ती मनाइएको हो । बेल्टार बजारको परिक्रममा गरेर वडा नम्बर ६ स्थित स–शस्त्र क्याम्प नजिक रहेको चौदण्डीगढी नम बुद्ध विहार स्थलमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी रहेका चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले बुद्धको सन्देशलाई आत्मसात गर्दै अगाडी बढ्नु पर्ने बताएका थिए । यस्तै कालिका मावी सिवार्नीका प्रधानाध्यापक राजबहादुर राना मगरले भगवान बुद्धको जीवनीमाथी प्रकाश पार्दै धर्मले खुशी दिने भएकोले त्यसको महत्व रहेको बताएका थिए । उनले भगवान बुद्धले संसारमा दुख छ, दुखको कारण पनि छ र दुखको समाधान पनि छ भन्ने संन्देश दिएकोले बुद्धत्वले दुख कष्टबाट मुक्ती दिलाउने र दुखको निवारण गर्ने बताएका थिए । यस्तै चौदण्डीगढी नगरपालिकाका पुर्व नगर प्रमुख खगेन्द्र राईले शान्तिको लागि आफ्नो सुश शयललाई छोडेर मानवहितमा कार्य गरेको भन्दै भगवान बुद्धले शान्तिको मार्गलाई पहल्याउने कार्य गरेको बताएका थिए । उनले बुद्धत्वले जीवनमा खुशी मिलने र त्यसले शान्ति स्थापना गर्ने बताए । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राई, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का , आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर समितिका अध्यक्ष मनकुमार राई, बिभिन्न राजनीतिक दलका प्रतिनीधि लगायतले बुद्धको शान्तिको सन्देशको बारेमा प्रकाश पारेका थिए । कार्यक्रम नेपाल मगर संघ चौदण्डीगढी नगर कमिटीका अध्यक्ष केशब राना मगरको अध्यक्षताका भएको थियो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गर्दछन् । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको मान्यता रहेको छ ।
