अन्तर बिद्यालय हयाण्डवल प्रतियोगितामा ज्योति मावि बेलटारको कब्जा।

०९ जेठ २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज सम्पन्न अन्तर बिद्यालय हयाण्डवल प्रतियोगितामा ज्योति माध्यमिक बिद्यालय बेलटारले बर्चस्व कायम गरेको छ । आज वडा नम्बर ९ हडियास्थित जनता नमुना माध्यमिक बिद्यालयमा भएको महिला र पुरुष दुवै खेलमा विजेता बन्दै ज्योति माविले उपाधी जितेको हो । चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियागितामा पुरुष र महिला तर्फ ३–३ वटा बिद्यालयले सहभागिता जनाएका थिए । पुरुष र महिलातर्फ बेल्टार बजारस्थित ज्योति मावी , बसहास्थित नारद आदर्श मावी र हडिया स्थित जनता मावीको सहभागिता रहेको थियो ।

पुरुषतर्फ फाईनलमा ज्योति मावीले नारद आदर्श मावीलाई २ गोलका बिरुद्ध ११ गोल अन्तरले पराजित गर्दे उपाधी माथी कब्जा जमाएको छ । एकपक्षिय रहेको खेलमा नारद आदर्श मावीका खेलाडीहरु ज्योति माविका खेलाडीसामु निरिह देखिएका थिए । खेलमा ज्योति मावीले शुरुदेखी नै पकड बनाएको थियो । खेलमा कमजोर प्रदर्शन गरेको नारद आदर्शलाई ११–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै ज्योति माविले उपाधी जितेको हो । उपाधीसंगै ज्योति माविले नगद १५ हजार रुपैयाँसहित मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता नारद आदर्श मावीले नगद १० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । पुरुषतर्फ जनता मावि हडियाका खेलाडी विप्लव निरौला उदयमान खेलाडी घोषित भएका थिए । यस्तै महिलातर्फ पनि ज्योति मावी बेल्टारले नारद आदर्श मावी बसहालाई १ को विरुद्ध ७ गोल गर्दै उपाधी जितेको छ । महिला तर्फ पनि जनता मावि हडियाका खेलाडी पुर्णिमा राउत उदयमान खेलाडी घोषित भएकी थिईन् । महिलातर्फ उपाधीसंगै ज्योति मावीले नगद १५ हजार रुपैयाँसहित मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता नारद आदर्श मावीले नगद १० हजार रुपैयाँसहित मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । विजेताहरुलाई चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, पुर्व मेयर खगेन्द्र राई, वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश रोत, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, राष्ट्रिय ह्याण्डवलका केन्द्रीय सदस्य राकेश राई , ह्याण्डबल कोशी प्रदेश अध्यक्ष मुक्ति राई लगायतले पुरुस्कार वितरण गरेका थिए ।

चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिले नगरमा ह्याण्डवलको विकासका लागि बिद्यालय स्तरमै छात्रछात्राहरुलाई प्रशिक्षक राखेर प्रशिक्षण दिरहेको छ । समितिले २ जना प्रशिक्षकको ब्यबस्था गरेर नारद आदर्श मावी बसहा र जनता मावी हडियाका छात्रछात्राहरुलाई प्रशिक्षण दिएको समितिका सदस्य सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।