०७ जेठ २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित ब्यापारी ब्यबसायीहरुको छाता संगठन बेल्टार बसहा उद्योग बाणिज्य संघको अध्यक्षमा बेल्टार बजारका स्थानीय ब्यापारी गोविन्द थापा निर्वाचित भएका छन् । बेल्टार बजारस्थित संघको कार्यालयमा भएको चुनावबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् । २४१ जना मतदाता रहेकोमा २०२ मत बसेको थियो । जसमा थापाले १०८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष कुमार विश्वकर्माले ९३ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो । अध्यक्षमा २ जनाको दावेदारी परेपछि आज बिहान १० बजेसम्ममा सहमतिको लागि निर्वाचन कमिटीले समय दिएकोमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।
यसअघि जेठ ५ गतेको बन्द शत्रले संघको अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मतरुपले कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षमा उद्योगतर्फ सुरेन्द्र ल्वागुन, उपाध्यक्षमा बाणिज्यतर्फ गणेश कुमार खत्री, त्यस्तै महासचिवमा अनिल पौडेल, सचिवमा बिशाल गेलाल र कोषाध्यक्षमा तेज नारायण साहलाई सर्वसम्मत चयन गरेको थियो । यस्तै सदस्यहरुमा सन्तोष देव, सुरेश खड्का, कृष्ण बहादुर मगर, सन्तोष कुमार रौनियार, चन्द्रलाल गिरी, राजकुमार खड्का, सुमन थापा र अनिल कुमार साह सर्वसम्मतरुपमा चयन भएको निर्वाचन मण्डलका संयोजक जनक कार्कीले जानकारी दिएका थिए । संघमा ६ सय भन्दा बढी ब्यापारी ब्यबसायीको आबद्धता रहेको भनिए पनि २४१ जना ब्यापारीले मात्र आफ्नो ब्यबसाय नविकरण गराएका थिए ।
