कुसुमचौरीमा खानेपानीको समस्या समाधान हुने ।

०६ जेठ २०८१, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ कुसुमचौरीमा खानेपानीको समस्या समाधान हुने भएको छ । आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमकाबीच कुसुमचौरी खानेपानी योजनाको शिलान्यास गरेका छन् । संघीय सरकारको अनुदानबाट बन्ने खानेपानी योजना निमार्णको जिम्मा सुन्सरीको धरानस्थित प्रिन्सा निमार्ण सेवाले पाएको छ । भ्याटसहित ४२ लाख ८४ हजार ६ सय ४२ रुपैयाँको लागतमा निमार्ण हुने योजना आगामी आषाढ १५ गते सम्ममा सम्पन्न गरिसक्नु मिति तोकिएको छ । योजना सम्पन्न भएपछि कुसुमचौरी क्षेत्रका १ सय १० घरपरिवारले स्वच्छ खानेपानीको सुविधा प्राप्त गर्ने बताईएको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले २ बर्ष अघि स्थानीय चुनावको समयमा स्थानीयको माग बमोजिम आफुले खानेपानीको समस्या समाधान गर्ने वाचा गरेअनुरुप त्यसका लागि पहल गरेको र वाचा पुरा गर्न सफल भएकोमा सन्तोष मिलेको बताएका थिए । उनले निमार्णस्थलबाटै ठेकेदार कम्पनीलाई योजनाको काम तोकिएको समयमै पुरा गर्न पनि आग्रह गरेका थिए । यस्तै नगर प्रमुख लामाले यहाँका अब्यबस्थित र सुकुमबासी बासिन्दालाई जग्गाको मालिक बनाउने प्रतिबद्धता ब्यक्त गर्दै भुमी आयोग गठन पछि त्यसलाई अगाडी बढाउने पनि बताएका थिए ।