चौदण्डीगढीमा एकै दिन दुई वटा सिंचाई योजनाको शिलान्यास ।

फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकै दिन दुई वटा सिचाई योजनाको शिलान्यास गरिएको छ । नगर प्रमुख कालुमान लामाले वडा नम्बर ४ शनिवारेस्थित एघारेघरे सिंचाई योजना र वडा नम्बर ६ केचुवास्थित केचुवा कालीपोखरी सिंचाई योजनाको शिलान्यास गरेका छन् । शनिवारेस्थित एघारेघरे सिंचाई योजनाबाट शनिवारे, जन आदर्श टोल, चरण टोल र मगर टोलका ५७ घुरधरी परिवार लाभाम्वित हुनेछन् भने ११ सय १० मिटर लामो पक्की कुलोबाट २ सय ४० रोपनी जग्गा सिंचित हुने योजनाका फोकल पर्सन जयनेन्द्र झाले जानकारी दिएका छन् । योजना स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको २०–२० प्रतिशत तथा स्वीस सरकार विकास सहयोग नियोगको ३० प्रतिशत र स्थानीय जन सहभागिता १० प्रतिशत हुने गरी कुल २६ लाख १९ हजार ९ सय ४८ रुपैयाँ ८१ पैसाको लागतमा सम्पन्न हुने जनाईएको छ । एघारेघरे सिंचाई योजनाको सम्झौता २०८० साल पुस ४ गते भएको थियो भने २०८१ साल पुस ३ गते योजना सम्पन्न हुने बताइएको छ ।
सिंचाई योजनाको आज बिहान शनिवारेस्थित कालीकोखामा शिलान्यास गर्दै नगर प्रमुख लामाले प्राकृतिक श्रोतसाधनको उपयोग गर्दै बिकास निमार्णमा लगाउने उदेश्य अनुरुप त्यसबाट आएको आम्दानीले त्यो खोलानालाको संरक्षणमा खर्च गर्ने बताएका छन् । उनले लामा खोलाबाट ढुंगागिटी बिक्रि वितरणबाट आएको आम्दानीबाट लामाखोलामा नै तटबन्धन लगाएको उदाहरण दिदै प्राकृतिक श्रोतसाधनको उचित परिचालन गर्नुपर्ने जनाएका छन् । यस्तै नगर प्रमुख लामाले कुलोको मुहान संरक्षणमा नगरपालिकाले सहयोग गर्ने पनि बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईले वडामा रहेको बाझो जमिनलाई सिंचित गराई वडालाई तरकारी तथा खाधान्यमा आत्मनिर्भर बनाउने उदेश्य रहेको बताएका थिए । यस्तै पुर्व वडा अध्यक्ष चरण कुमार राईले २०२४ सालबाटै उपभोग गरिरहेको कुलो जिर्ण भएकाले समस्या भैरहेको जनाउदै नयाँ पक्की कुलो बने भएपछि यस क्षेत्रका बासिन्दा लाभाम्वित हुने बताएका थिए । कार्यक्रम योजना उपभोक्ता समितिका अध्यक्ष मणि कुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस्तै आज नै नगरप्रमुख कालुमान लामाले वडा नम्बर ६ केचुवास्थित केचुवा कालीपोखरी सिंचाई योजनाको शिलान्यास गरेका छन् । कुल ४४ लाख ७९ हजार ९ सय ७९ रुपैयाँ ६९ पैसाको लागतमा निमार्ण हुने १ हजार ५२ मिटरको पक्की कुलाले ८ सय रोपनी जग्गा सिंचित हुने बताइएको छ । योजनाबाट ९३ घरधुरी लाभाम्वित हुने बताइएको छ । योजनाको सम्झौता २०८० साल माघ ९ गते भएको थियो भने २०८१ साल माघ ८ गते योजना सम्पन्न हुने जनाइएको छ । यो योजना पनि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको २०–२० प्रतिशत तथा स्वीस सरकार विकास सहयोग नियोगको ३० प्रतिशत र स्थानीय जन सहभागिता १० प्रतिशतको लागत साझेदारीमा हुने जानकारी फोकल पसैन जयनेन्द्र झाले दिएका छन् ।

त्यस्तै नगर प्रमुख कालुमान लामाले आज वडा नम्बर २ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन पनि गरेका छन् । हिजो मात्र सिद्धिपुरस्थित वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका नगर प्रमुख लामाले आज झोडापाटास्थित नम्बर २ को वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । कुल ५४ लाख ५० हजार रुपैयाँको लागतमा निमार्ण भएको एक तल्ले वडा कार्यालय भवनमा ५ वटा कोठा रहेको छ । भवन निमार्ण शिवशक्ती निमार्ण सेवाले ४० लाख रुपैयाँमा निमार्ण गरेको थियो भने झयाल ढोका लगायतको फिनिसिङ्गको काम सुसान निमार्ण सेवाले १४ लाख ५० हजार रुपैयाँमा गरेको वडा कार्यालय जनाएको छ ।