बेल्टारमा बजारमा आजदेखी “बेल्टार मिनी महोत्सवको शुरु” ।

२३ फागुन २०८०, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारमा बजारमा आज “बेल्टार मिनी महोत्सवको उद्घाटन गरिएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरेका छन् । आजबाट सुरु भएको महोत्सव चैत ६ गते सम्म संचालन हुने बेल्टार जिम एण्ड फिटनेसका अध्यक्ष मिलन रिजालले जानकारी दिएका छन् । उनका अनुसार महोत्सव वडा नम्बर ६ स्थित बेल्टार जिम एण्ड फिटनेसको सहयोगार्थ संचालन गरिएको हो । महोत्सव संचालकले फिटनेसलाई ३ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।

यसअघि आईतवार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरका प्रमुख राजनीतिक दलका प्रमुखहरुको बैठकले विरोधका बिच पनि फागुन २२ गतेदेखी १५ दिनसम्म महोत्सव संचालन गर्न दिने सर्वसम्मत निर्णय गरेको थियो । चैत्र ४ गतेदेखी बिद्यार्थीहरुको बार्षिक परिक्षा रहेको र चैत्र १५ गतेदेखी एसईई परिक्षा रहेकोले परिक्षाको समयमा महोत्सव संचालन गर्न दिनु नहुने भन्दै केहीले विरोध पनि गरेको थिए । स्वतन्त्र रुपमा केही सामाजिक अगुवाहरुले उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई ध्यानाकार्षण पत्र पनि बुझाएका थिए ।

यद्यपी आजबाट चौदण्डीगढी नगरपालिकाको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारमा महोत्सव शुरु भएको छ । महोत्सव संचालक पर्वत लामाका अनुसार महोत्सवमा रचना रिमाल, एलिना चौहान, प्रमोद खरेल, अंजु पन्त, सुगम पोखरेल, मेलिना राई, प्रकाश सपुत, सुरेश लामा लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको छ भने रोटे पिङ्ग, नाउका पिङ्ग, कार रेस लगायतका मनोरञ्जनात्कम खेलहरु पनि रहेको छ । महोत्सवमा फागुन २४ गते विहिवार भोली साँझ रचना रिमालको प्रस्तुती रहेको महोत्सव संचालक पर्वत लामाले जानकारी दिएका छन् ।