२३ फागुन २०८०, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरमा विकासको आधार स्तम्भ खडा गरेको बताएका छन् । आज वडा नम्बर ८ सिद्धिपुरस्थित नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख लामाले शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायतका क्षेत्रमा नगरपालिकाले राम्रो काम गरेको जनाउदै नगरमा विकासको आधार स्तम्भ खडा गरेको बताएका हुन् । उनले संघिय सरकारले मुल्यांकन गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कनमा राम्रो नतिजा ल्याए वापत चौदण्डीगढी नगरपालिका जिल्ला र प्रदेश मै उत्कृष्ट नगरपालिका घोषणा भएर एक करोड रुपैयाँ अनुदान प्राप्त गर्न सफल भएको बताएका छन् । उनले नगरपालिकाले राम्रो काम गरेकैले थप अनुदान पाउन सफल भएको तर केही ब्यक्तिहरुले विरोधका लागि बिरोध गर्ने गरेको जनाउदै त्यसको कुनै तुक नरहेको बताएका छन् । उनले लोकतन्त्रमा सकरात्मक आलोचना गर्न पाउने पनि बताएका छन् ।
वडा नम्बर ८ को नवनिर्मित ५ कोठे पक्की भवन बेल्टार बजारस्थित सान्ताङ्गे निमार्ण सेवाले भ्याट सहित ५६ लाख रुपैयाँमा निमार्ण सम्पन्न गरेको हो । नगरपालिकाको ३९ लाख ५० हजार र जिल्ला समन्वय समिति उदयपुरको १५ लाख ५० हजारमा भवन निमार्ण भएको वडा कार्यालयले जनाएको छ ।
भवन उद्घाटनका क्रममा पुर्व कार्यबहाक वडा अध्यक्ष गडुरमान विक, नेकपा एमाले चौदण्डीगढी नगर कमिटीका कार्यबहाक अध्यक्ष कृष्ण खत्री, वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउत , वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का लगायतले शुभकामना दिएका थिए । कार्यक्रम वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
