चौदण्डीगढीमा उदयपुर जिल्ला स्तरीय ७ औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न।

२६ फागुन २०८०, सन्तोष कुमार रौनियार…

बसाहा ब्याडमिन्टन क्लबको आयोजनामा संचालित उदयपुर जिल्ला स्तरीय ७ औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजबाट सम्पन्न भएको छ । मेन्स डवल्स वि डिभिजन खुल्लातर्फ बसहा ब्याडमिन्टन क्लबका प्रदिप राई र सुजल चौधरीको जोडी तथा मास्टर ९० प्लस डबल्सतर्फ सुन्दरपुर ब्याडमिन्टन क्लबका सन्तोष कटुवाल र राजेन्द्र खड्काको जोडी प्रथम भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहा चौकीडाडास्थित स्वर्गीय सनात कुमार राई कभर्ड हलमा फागुन २४ गतेदेखी संचालन भएको प्रतियोगितामा दुबै बिद्यातर्फ ३२–३२ टिमको सहभागिता रहेको थियो ।

आज सम्पन्न भएको फाईनल प्रतियोगितामा मेन्स डवल्स वि डिभिजन खुल्लातर्फ बसहा ब्याडमिन्टन क्लबका संजय राई र सुरज तामाङ्गको जोडीलाई १९–२१, २१–१५ र २१–१४ को सेटमा हराउदै बसहा ब्याडमिन्टन क्लबकै प्रदिप राई र सुजल चौधरीको जोडीले प्रथम स्थान ल्याएको हो । प्रथम स्थानसंगै प्रदिप र सुजलको जोडीले नगद २० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो भएको संजय र सुरजको जोडीले नगद १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । तेश्रो स्थान भने रोहितमान तामाङ्ग र राजकुमार राई तथा सुस्मित भुजेल र बिशाल राईको जोडी भएको छ । तेश्रो हुनेले नगद ८ हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । यस्तै ९० प्लस डबल्सतर्फ गाईघाट ब्याडमिन्टन क्लबका चित्र थापा र गम्भिरमान दनुवारको जोडीलाई २१–१४ र २१–१० को सोझो सेटमा पराजित गर्दै सुन्दरपुर ब्याडमिन्टन क्लबका सन्तोष कटुवाल र राजेन्द्र खड्काको जोडी प्रथम भएको छ । त्यस्तै देवी राई र दिपक राई तथा शसिचन्द्र राई र दिनेश बिष्टको जोडीले तेश्रो स्थान प्राप्त गरेको छ । प्रथम स्थानसंगै सन्तोष र राजेन्द्रको जोडीले नगद २० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने दोश्रो भएको चित्र र गम्भिरमानको जोडीले नगद १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । तेश्रो स्थान प्राप्त गर्नेले भने नगद ८ हजार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।

विजयी खेलाडीहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा , पुर्व नगर प्रमुख खगेन्द्र राई, वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गाराज राई, चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर लगायतले पुरुस्कार वितरण गरेका थिए । प्रतियोगितामा मेन्स डवल्स खुल्लातर्फ पनि प्रतिस्पर्धा गराईने भनिएको भएपनि न्युन्तम ८ टिमको सहभागिता हुनुपर्नेमा ५ वटा टिम मात्र दर्ता भएकोले मेन्स डवल्स खुल्लातर्फ प्रतिस्पर्धा गराईएको थिएन ।