१९ फागुन २०८०, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १० स्थित त्रियुगा नदीमा निमार्णधिन हडिया र देवधार जोड्ने पुलको काम फेरी सुचारु भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति तथा चौदण्डीगढी नगरपालिकाका
पुर्व मेयर खगेन्द्र राईले आज पुजाआजा गरी बिधिपुर्वक काम सुचारु गराएका छन् । गत महिना माघ ८ गते नेपाली कांग्रेसका वडा सभापति खड्क राउतले पुजाआजा गरी पुलको शिलान्यास गरेका थिए । तर वेल फाउण्डेशनको मेशिनले पुलको पिलरका लागि जग खन्ने क्रममा रुखको ठुला जराहरु भेटिएकोले जग खन्न समस्या भएपछि केही समयदेखी जग खन्ने काम रोकिएको थियो ।
ठेकेदारले पाईलिङ्ग प्रबिधिले पुलको जग खन्ने मेशिन ल्याएपछि आज क्षेत्रिय सभापति खगेन्द्र राईले सो काम सुचारु गराएका हुन् । काम सुचारु गराउदै क्षेत्रिय सभापति राईले नगरको लागि पुल अत्यन्त महत्वको रहेकोले कुनै पनि बाहानामा काम ढिलो नगर्न तथा गुणस्तरीय काममा कमीमजोरी नगर्न आग्रह गरेका छन् । उनले कतैकुनै किसिमको समस्या, बाधा अबरोध आएमा वडा र नगर सरकार तथा स्थानीयहरुसँग सरसल्लाह र सहयोग लिएर समस्या सामाधान गर्न सुझाव दिएका छन् ।
सुन्सरीको धरानस्थित सूर्य एण्ड सन्स निर्माण कम्पनिले ३ सय २० मिटर लामो पुल ४२ करोडमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको छ । जसमध्ये झण्डै एक बर्ष वितिसकेको छ । पुलमा ६ वटा पिलर र ५ वटा स्पान रहेको छ भने एउटा स्पानको लम्बाई ६४ मिटर रहेको छ । यहि आर्थिक बर्षमा पुलको पिलरको काम सम्पन्न गरिने ठेकेदारले जनाएको छ । पुल निमार्ण नहुँदा हडियाका बासिन्दालाई नगरको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार आउजाग गर्न समस्या हुने गरेको छ भने बर्षाको समयमा जोखिम मोलेर त्रियुगा नदीमा कष्टपुर्णरुपमा डुंङ्गाको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पुल निमार्ण पश्चात हडियाबासीले सहजहरुपमा मदन भण्डारी राजमार्ग हुर्दै बेल्टार बजार र सदरमुकाम गाईघाट आवतजावत गर्न सक्नेछन् भने आफ्नो कृषी उत्पादन यी बजारहरुमा लगेर बेचबिखन गरी आर्थिक लाभ लिन सक्नेछन् ।
