भुपु सैनिक अंग्रेजी स्कुलले मनायो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव ।

१८ फागुन २०८०, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा संचालित भुपु सैनिक अंग्रेजी स्कुलले आज आफ्नो २५ औं बिद्यालय बार्षिक जन्मोत्सव तथा अभिभावक दिवस धुमधामसंग मनाएको छ । नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यितामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्कुलको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्रिन्सिपल प्रिया राई कटुवालले न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु बिद्यालयको उदेश्य रहेको बताएकी छिन् । उनले बिद्यालयको भावी योजना बारे जानकारी दिदै बिद्यालयको भौतिक संरचना सुधार गर्ने जनाएकी छिन् । बिद्यार्थीका लागि ब्यबस्थित लाईब्रेरी हल निमार्ण, बिद्यालय बसका लागि भारतीय राजदुतावाससंग पहल गर्ने उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख कालुमान लामाले नगरको शैक्षिक अबस्था सुधारको लागि निरन्तररुपमा छलफल गरिरहेको बताउदै संस्थागत बिद्यालयहरुमा समेत सुधार गर्नुपर्ने अबस्था रहेको बताएका छन् । उनले बिद्यालय कक्षा कोठा मापदण्ड अनुरुपको हुनुपर्ने, शिक्षक कर्मचारीलाई न्युन्तम तलबको ब्यबस्था गर्नुपर्ने लगायतका कार्यका लागि संस्थागत बिद्यालयका प्रिन्सिपलहरुलाई जानकारी गराईसकिएको बताउदैै आगामी शैक्षिक सत्रबाट यी प्रावधानहरु लागु गरिने जानकारी दिएका छन् । बिद्यालय सुधारको कार्यलाई जुंगाको लडाईभन्दा पनि शैक्षिक गुणस्तर कायम गर्न गरिएको प्रयासको रुपमा बुझनुपर्ने नगर प्रमुख लामाको भनाई छ । कार्यक्रममा पुर्व नगर प्रमुख खगेन्द्र राई, बिद्यालय ब्यबस्थापन समितिका सदस्य मविराज राई लगायतले शुभकामना दिएका थिए ।

बि.स. २०५६ साल श्रावण २६ गते भुतपुर्व भारतीय सैनिक तथा सामाजिक अगुवाहरुको सहयोगमा स्थापना भएको बिद्यालयमा हाल कक्षा नर्सरीदेखी कक्षा १० सम्मको अध्ययन अध्यापन हुने गरेको छ भने बिद्यालयमा २४८ जना बालबालिकाले अध्ययन गरिरहेको बिद्यालयले जनाएको छ ।