चौदण्डीगढीमा राष्ट्रिय अभियान अन्तर्गत फागुन १३ गतेदेखी दादुरा–रुबेला बिरुद्धको खोप अभियान संचालन हुदै ।

११ फागुन २०८०, सन्तोष कुमार रौनियार…

नेपाल सरकारको राष्ट्रब्यापी कार्यक्रम दादुरा रुवेला बिरुद्धको खोप अभियान उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि फागुन १३ गतेदेखी १८ गतेसम्म संचालन हुने भएको छ । राष्ट्रिय अभियान अन्तर्गत देशैभरको सबै पालिकामा दादुरा–रुबेला बिरुद्धको राष्ट्रिय खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।
चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाले हिजो बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगरपालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर अभियान सम्बन्धि जानकारी दिएको छ । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख श्रीकान्त चौधरीले दक्षिणपूर्वी एशियाबाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य अनुरुप नेपाल सरकारले पनि प्रतिबद्धता जनाएको उल्लेख गर्दै नियमित खोपमार्फत सबै बालबालिकाहरुलाई ९ महिनामा पहिलो मात्रा र १५ महिनामा दोश्रो मात्रा दादुरा रुवेलाको खोप प्रदान गरी रोग प्रतिरोधात्मक क्षमता बृद्धी गर्दै रोगको न्युनिकरण गर्ने लक्ष्य पुरा गर्नको लागि खोप अभियान संचालन हुन लागेको जनाएका छन् । सन् २०२६ को लक्ष्य निर्धारण गरिएको जानकारी दिदै चौधरीले लक्ष्य प्राप्तीको लागि अभियान संचालन गरिएको बताएका छन् । चौधरीले स्थानीय तह र वडाहरुमा दादुरा ड्रप आउट धेरै देखिएको र यस अघिको अभियानहरुमा केही स्थानका बालबालिकाहरु खोपबाट बन्चित रहेको देखिएकाले खोप अभियान संचालन गरिएको बताएका छन् ।
यस्तै स्वास्थ्य शाखाका उप प्रमुख लक्ष्मी चौधरीले नगरपालिकाले यसअघि खोप अभियान संचालन गरेको खोप केन्द्रहरुबाट दादुरा रुवेलाको खोप अभियान संचालन गरिने र ९ महिनादेखी ५ बर्षसम्मका बालबालिकाहरुलाई खोप लगाईने कार्यक्रम रहेको बताएका छन् । उनले खोपले रोग प्रतिरोधात्मक क्षमताको बिकास हुने भएकोले खोप लगाउनुपर्ने जानकारी दिदै यसअघि खोप लगाएको भएपनि अभियानको क्रममा उक्त उमेर समुहको बालबालिकालाई अनिबार्यरुपमा खोप लगाईने बताएका छन् । हिजोको कार्यक्रममा खोप अभियानमा स्वास्थ्यकर्मी परिचालन , अभियानको प्रचारप्रसार र सरोकारवालाहरुको परिचालन लगायतको बिषयमा अभिमुखीकरण गरिएको थियो । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरु, स्वास्थ्यकर्मी, शिक्षक, संचारकर्मी, लगायतको उपस्थिती रहेको थियो ।

दादुरा र रुबेला रोगको हालसम्म निश्चित औषधि उपचार छैन । जटिलताको कारणबाट मुत्यु पनि हुनसक्ने भएकाले यी रोगको उपचार यसका लक्षण वा जटिलता अनुसार गर्नु पर्ने चिकित्सकले सुझाएका छन् । तोकिएको उमेरमा दादुरा र रुबेला रोग विरुद्धको खोप दिनु नै यो रोगबाट बच्ने एकमात्र प्रभावकारी एवं भरपर्दो उपाय रहेको उनीहरुको भनाइ छ ।
नेपालमा दादुरा खोपको सुरुवात सन् १९८८ देखि भएको पाइन्छ । सन् २०१३ देखि ९ महिनाका बालबालिकालाई रुबेला खोप पनि दिन सुरु गरियो, जसअनुसार नियमित खोप सेवाको रुपमा दादुरा–रुबेला खोप प्रदान गरिँदै आएको छ । सन् २०१५ देखि नियमित खोप सेवामा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिने कार्य सुरुवात गरिएको थियो, जसअनुसार १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दोस्रो मात्रा दिइँदै आएको छ ।