चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवलको उपाधी वडा नम्बर ६लाई।

९ फागुन २०८०, सन्तोष कुमार रौनियार…

 

उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ६ सिर्वानीले जितेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर ३ आमसाललाई ३–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधी कब्जा गरेको हो ।
उपाधीसंगै वडा नम्बर ६ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेतामो चित्त बुझाएको वडा नम्बर ३ ले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्दै वडा नम्बर २ का सचिन खड्काले उच्च गोलकर्ताको उपाधी प्राप्त गरेका थिए । खड्काले प्रतियोगितामा ४ गोल गरेका थिए । यस्तै वडा नम्बर ६ का लवकुश मगरले उत्कृष्ट गोलरक्षक, वडा नम्बर २ कै कुशल मगरले उदयमान खेलाडी ,त्यस्तै वडा नम्बर ६ का हेमराज थापाले उत्कृष्ट रक्षक, वडा नम्बर ३ का रोहन राईले उत्कृष्ट खेलाडी र वडा नम्बर ६ का अनिल राईले उत्कृष्ट मध्यक्रम मिडफिल्डको उपाधी प्राप्त गरेका छन् । उपाधी विजेता टिम र खेलाडीहरुलाई प्रमुख अतिथी चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, पुर्व मेयर खगेन्द्र राई, एमाले उदयपुर जिल्ला अध्यक्ष परमेश्वर घिमिरे लगायतले पुरुस्कार बितरण गरेका थिए ।
यसअघि प्रतियोगिता अन्तर्गत भएको फाईनल खेलमा खेलको पहिलो हाफसम्म दुबै टिमले प्रतिस्पर्धात्म खेल प्रदर्शन गरेका थिए । दुबै टिमले पाएको केही मौकाहरुलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफको खेल गोलरहित बराबरी भएको थियो । तर दोश्रो हाफका राम्रो खेल कौशल देखाएको वडा नम्बर ६ ले खेल अबधीसम्म वडा नम्बर ३ लाई दवावमा राखेको थियो । दोश्रो हाफको सुरुवातमै वडा नम्बर ६ को तर्फबाट जर्सी नम्बर १७ का सन्जय तामाङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले दोश्रो हापको दोश्रो मिनेटमै गोल गरेका थिए । यस्तै खेलको ४२ औं मिनेटमा जर्सी नम्बर ७ का अनिस बस्नेतले गोल गर्दै वडा नम्बर ६ को अग्रता दोब्बर पारेका थिए भने खेलको ६९ औं मिनेटमा वडा नम्बर ६ कै तर्फबाट सुदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको विजयी सुनिश्चित गरेका थिए । आजको खेलको म्यान अफ दि म्याच पनि वडा नम्बर ६ कै अनिश बस्नेत घोषित भएका थिए । प्रतियोगितामा नगरको १० वटा वडामध्ये वडा नम्बर १ बाहेक ९ वटा वडाको टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको संयोजनमा चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको थियो ।