मेयर कप फुटवल प्रतियोगिताः वडा नम्बर २ झोडापाटा सेमिफाईनलमा प्रबेश ।

६ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर २ झोडापाटाले वडा नम्बर ४ बसहा बर्खेडाडालाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।

वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको पहिलो हापको १४ औं मिनेटमा वडा नम्बर २ झोडापाटाका जर्सी नम्बर १० का सचिन खड्काले गोल गर्दै झोडापाटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको बसहाले दोश्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेलको ३१ औं मिनेटमा गोल फर्काउदै खेल बराबारीमा ल्याएको थियो । बसहाका जर्सी नम्बर ८ का निश्चिल राईले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक रहेको खेलको ६८ औं मिनेटमा झोडापाटाका लागि करण बिकले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । निर्धारित समयमा त्यसपछि दुबैतर्फबाट थप गोल हुन नसकेपछि समग्रमा झोडापाटाले आजको खेल २–१ गोल अन्तरले जित्दै सेमिफाईनलमा प्रबेश गरेको खेलका रेफ्री अमर राईले जानकारी दिएका छन् । सेमिफाईनलमा भोली वडा नम्बर २ झोडापाटाले वडा नम्बर ६ सिवार्नीको सामना गर्नेछ ।आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर २ का जर्सी नम्बर ५ का करण बिक घोषित भएका थिए । उनलाई नारद आर्दश माध्यमिक बिद्यालयका प्रधानाध्यापक कविराज तामाङ्गले नगद एक हजार रुपैयाँ र मेडलसहित पुरुस्कृत गरेका थिए ।

पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगितामा नगरको १० वटा वडा मध्ये वडा नम्बर १ बाहेक ९ वटा वडाका टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपबिजेता टिमले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक चौदण्डीगढी नगर खेलकुद विकास समितिका सदस्य सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् ।