५ फागुन २०८०, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ९ ले जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरी वडामा रहेका ७६ बर्षभन्दा माथी उमेरका करिव दुई सय ज्येठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालय ज्यामिरेमा एक कार्यक्रमको आयोजना गरी वडाले १ सय ७९ जना ७६ बर्षभन्दा माथी उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ९ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउत, एमाले नेता बाबुराम पौडेल लगायतले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर, फलफुल दिएर सम्मान गरेका थिए ।
कार्यक्रममा वडाको सबैभन्दा बृद्धा महिला ज्यामिरे पुर्व टोलकी ९९ बषिर्या धनशोभा तामाङ्ग र ९३ बर्षिय अजगडाका नरबहादुर कार्कीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रमाणपत्रमा समाजमा ज्येष्ठ नागरिकले ईतिहास, सामाजिक संस्कार, भाषा, साहित्य, परम्परागत ज्ञान, आदर्श, मुल्य मान्यताहरु बर्तमान तथा भावी पुस्तामा हस्तान्तरण गर्दै समाज विकासमा योगदान दिएको उल्लेख छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले नगर र वडा ज्येष्ठ नागरिकको छोराछोरीको रुपमा रहेकोले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि कार्य गरिरहेको बताएका छन् । उनले बृद्धबृद्धाहरुलाई घरदैलोमै सरकारी सेवा सुबिधा उपलब्ध गराउने कार्यमा स्थानीय सरकार लागिरहेको बताउदै शिक्षा। स्वास्थ्य र विकास निमार्णको कार्यमा नगरपालिका लागिरहको बताएका छन् । नगर प्रमुख लामाले हडिया र ज्यामिरे जोड्ने त्रियुगा नदीमाथी झुलुङ्गे पुल निमार्ण गरेर आफुले चुनावताका गरेको वाचा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै त्रियुगा वारी र पारी भन्ने सोचाईलाई मेटाउने बताएका छन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रकाश राउतले आफुले वडाको जनताको चाहना बमोजिम काम गरिरहेको दावी गर्दै वडामै सुबिधा सम्पन्न अस्पतालको संचालन, निःशुल्क औषधीको ब्यबस्था गर्न लागिरहेको जानकारी दिएका छन् । यस्तै वडा अध्यक्ष राउतले आगामी आर्थिक बर्षमा वडाको खर्चमा ज्येष्ठ नागरिकलाई एक हप्ताको तिर्थाटन गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा नगर उप प्रमुख मणिकादेवी दुलाल, पुर्व प्रदेश सांसद विमल कार्की,एमाले नेता बाबुराम पौडेल लगायतले पनि शुभकामना दिएका थिए ।


