नगरको शिक्षा सुधारका लागि चौदण्डीगढी नगरपालिकाको दुरगामी निर्णय ।

४ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको शिक्षा सुधारका लागि दुरगामी निर्णयहरु गरेको छ । नगर प्रमुख कालुमन लामाको अध्यक्षता आज बसेको शिक्षा समितिको बैठकले अभिभावक सहयोग कार्यक्रमको कार्यविधी बनाएर लागु गर्नेदेखी बिषय बिज्ञहरुको रोष्टर बनाएर विषयगत समिति निमार्ण गरी शैक्षिक समास्या समाधान गर्ने निर्णय गरेको छ ।
शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरकाअनुसार नगर प्रमुख लामाको अध्यक्षतामा बसेको आजको बैठकले नगरपालिकाले यसअघि लागु गर्ने निर्णय गरेको अभिभावक सहयोग कार्यक्रमको कार्यविधि बनाएर आगामी शैक्षिक शत्रबाट लागु गर्ने, यसअघि नगरपालिकाले माग गरेको बिषय बिज्ञहरुको निवेदनअनुसार रोष्टर तयार गरी बिषयगत समिति बनाएर शैक्षिक समास्या समाधान गर्ने, त्यस्तै सामुदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले तालिम, गोष्टी, सेमिनार लगायतका कार्यमा जाँदा शिक्षा शाखाको अनुमति लिनुपर्ने निर्णय गरेको छ । यस्तै कक्षा ८ को परिक्षा संचालन र ब्यबस्थापन शिक्षा शाखाले गर्ने, कक्षा ८ बाहेकका अरु कक्षाहरुको बार्षिक परिक्षाका लागि परिक्षा बोर्डमार्फत संचालन गरी परिक्षामा एकरुपता कायम गर्ने पनि निर्णय भएको शाखा प्रमुख कुवँरले जानकारी दिएका छन् ।
यस्तै शिक्षा समितिको आजको बैठकले शिक्षक दरबन्दी मिलान र बिद्यालय तह समायोजन गर्ने, स्थानीय पाठ्यक्रम निमार्ण गर्ने, सामुदायिक बिद्यालयका कर्मचारी/ शिक्षकले अन्य बिद्यालयमा अध्यापन गराउनुपर्ने भएमा शिक्षा शाखाको अनुमति लिनुपर्ने, राहत, करार शिक्षकहरुको छनौटका लागि कार्यविधी बनाएर लागु गर्ने निर्णय गरेको छ । त्यस्तै यस आर्थिक बर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लेखी पठाउने तथा आर्थिक बर्ष २०८१/०८२ कालागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तोकिएको मापदण्ड अनुसार सुचना जारी गर्ने निर्णय गरेको छ ।
आजको बैठकले संस्थागत बिद्यालयहरुले प्रदान गर्ने छात्रवृतीको बिषयमा फागुन १० गते नीजि तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक तथा संचालकसंग छलफल गर्ने निर्णय पनि गरेको शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् ।
त्यस्तै नगरप्रमुख लामाले नगरको शिक्षाको स्तर सुधारका लागि नगरपालिकाले कठोर कदम चालिरहेकोले यसको दुरगामी असर पर्ने बताउदै राम्रो रिजल्ट दिन नसक्ने बिद्यायलको तह घटुवा, बिद्यालय मर्जसम्मको निर्णय लिन पछि नपर्ने बताएका छन् । नगरपालिकाले गत बर्षदेखी नै नगरको सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि प्रयास गरिरहेको छ । शैक्षिक सुधारका लागि नगरपालिकाले गत बर्ष केही बिद्यालयहरुको तह घटुवा गरेको थियो भने केही शिक्षकको आन्तरिक सरुवा तथा दरवन्दी मिलान गरेको थियो ।