३ फागुन २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी पाँचौं संस्करणको मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १० हडियाले ट्राईबेक्ररमा वडा नम्बर ८ सिद्धिपुरलाई ५–३ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनी थुलुङ्ग रंगशालामा आज भएको खेलको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेक्ररको माध्यमबाट निर्धारण गरिएको थियो । जसमा ५–३ गोल अन्तरको नतिजा निकाल्दै वडा नम्बर १० हडिया विजयी हुदै दोश्रो चरणमा प्रबेश गरेको छ ।
खेलको पहिलो हापसम्म दुवै टिमले गोल गर्न सकेका थिएनन् भने दोश्रो हापमा खेलको ४६ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १–० ले पछि परेपछि आक्रमक खेल खेलेको सिद्धिपुरले खेलको ६० औं मिनेटमा गोल फर्काउन सफल भएको थियो । सिद्धिपुरका तर्फबाट विजय बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयको खेलमा दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल ट्राईबेक्ररमा पुगेको थियो । जसमा वडा नम्बर १० हडियाले बाजी मारेको छ । हडियाको तर्फबाट पाँचै जना खेलाडीले गोल गर्न सफल भएका थिए भने सिद्धिपुरका तीन जना खेलाडीको प्रहार मात्र गोलमा परिणत भएको थियो । आजको खेलको म्यान अफ दि म्याच वडा नम्बर १० हडियाका गोल रक्षक दिकपाल राउत घोषित भएका थिए भने उनलाईलाई वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगरले नगद एक हजार रुपैयाँ र मेडलसहित पुरुस्कृत गरेका थिए ।
प्रतियोगिताको उपाधी विजेता टिमले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपबिजेता टिमले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक चौदण्डीगढी नगर खेलकुद विकास समितिका सदस्य सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् । भोलीको खेल वडा नम्बर ७ बेल्टार र वडा नम्बर २ झोडापाटाबीच हुने आयोजकले जानकारी दिएको छ ।
