१५ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…

उदयपुरको चौदण्डीगढी नगरपालिकामा हिजोदेखी सामाजिक सुरक्षा भत्ता तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम संचालन भएको छ । सामाजिक शाखा प्रमुख सत्य नारायण हुजदारको अध्यक्षतामा हिजो चौदण्डीगढी नगरपालिकाको सभाहलमा अभिमुखीकरण तालिम शुरु भएको हो । तालिममा सामाजिक सुरक्षा भत्ता वापतको रकम ईलेक्ट्रोनिक फण्ड ट्रान्सफर EFT बाट पठाउने, सामाजिक सुरक्षा भत्ता दर्ताका लागि राष्ट्रिय परिचय पत्रको आबश्यकता पर्ने लगायत पछिल्लो पटक परिवर्तन भएका ऐन नियम र प्राबधानहरुको बारेमा सहभागीहरुलाई तालिम प्रदान गरिएको सहजकर्ता MIS शाखा प्रमुख राधाकृण्ण आचार्यले जानकारी दिएका छन् ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख कालुमान लामाले ब्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ताका कोही पनि नछुटुन र नदोहरिउन भन्ने भावनाले काम गर्नुपर्ने बताउँदै बिशेष गरी वडा सचिवहरुले यस्ता बिषयमा चनाखो भएर देखिएको समस्यालाई न्युनीकरण गरेर लानुपर्ने बताएका थिए । यस्तै प्रमुख प्रशासकिय अधिकृत शुभाकर पौडेलले घटना दर्ता महत्वपुर्ण रहेको जनाउदै घटना दर्ताले नै कुनै ब्यक्ति नेपाली नागरिक हुने वा नहुने निर्धारण गर्ने बताएका थिए । उनले यस्ता बिषयमा संवेदनशिल भएर काम गर्नुपर्ने धारणा राखेका थिए । ३५ दिनभित्र घटना दर्ता गराउनलाई वडासचिवहरुले प्रोत्साहित गर्नुपर्ने जनाउदै धेरै ढिलो गरी घटना दर्ता गर्दा त्यसको दुषःपरिणाम पनि देखिने बताएका थिए । जन्म दर्ता नगर्दा स्कुल भर्ना, नागरिकता लिन, राष्ट्रिय परिचयपत्र लिन समेत अप्ठ्यारो हुने पौडेलको भनाई थियो ।
कार्यक्रममा उप प्रमुख मणिकादेवी दुलालले पनि शुभकामना ब्यक्त गरेकी थिईन् । कार्यक्रममा वडा अध्यक्षहरु, वडा सचिवहरु लगायत पंजिकरण शाखाका कर्मचारीहरुको उपस्थिती रहेको छ ।अभिमुखीकरण तालिम कार्यक्रम आजसम्म संचालन हुने नगरपालिकाले जनाएको छ ।
